धनगढी, २५ असार / कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असार २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रमेश भट्टराईले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । बुधबार अत्तरियामा पत्रकार सम्मेलन गर्दै भट्टराई नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको हो ।
भट्टराई प्यानलबाट वरिष्ठ उपाध्यक्षमा लोकराज ओझा (एल आर ओझा), वस्तुगत उपाध्यक्षमा विरेन्द्र विष्ट र वाणिज्य उपाध्यक्षमा समीर गीरी उम्मेदवार रहेका छन् । त्यस्तै महासचिवमा गोकुल भट्ट, कोषाध्यक्षमा दिपेन्द्र अवस्थी र राजन सिजापती सचिवमा उम्मेदवार रहेका छन् ।
त्यस्तै यादव भट्ट, लक्ष्मीराज ओझा, रमा कट्टेल र छत्र विक सदस्य पदका लागि उम्मेदवार बनेका छन् ।
आफ्नो प्यानलको घोषणा गर्दै अध्यक्षका प्रत्यासी भट्टराईले निर्वाचित भएमा हरियाली गोदावरी, सफा गोदावरी अभियान सञ्चालन गर्ने, व्यवासयीका अधिकार र सम्मानको रक्षा गर्ने, उद्योग वाणिज्य संघको अतिक्रमित जग्गामा भोगाधिकार कायम गर्ने, उद्योग वाणिज्य संघ र विद्यालयबीच सहकार्य गर्ने, एक वडा, एक व्यवसायीसँग भेटघाट अभियान सञ्चालन गर्ने तथा बैंक तथा वित्तीय संस्थासँग नियमित सम्वाद गर्ने घोषणा गरेका छन्।
यस्तै, बजारको सुरक्षा गर्दै डिजिटल अत्तरिया अभियान चलाउने, हाम्रो बजार, हाम्रो गर्व अभियानको थालनी गर्ने, व्यवसायी परिवार छात्रवृत्ति योजना ल्याउने, महिला व्यवसायी सशक्तिकरण कोष खडा गर्ने, युवा स्टार्टअप प्रवर्द्धन गर्ने, उद्योग वाणिज्य संघमा व्यवसायी सहायत कक्ष स्थापना गर्ने, व्यवसाय विस्तार परामर्श सेवा विस्तार गर्ने घोषणा गरेका छन्।
यसैगरी, व्यवसायी सम्मान दिवस मनाउने, स्थानीय कृषि उत्पादनको वजारीकरण गर्ने तथा समितिका सबै बैठक प्रत्यक्ष प्रशारण गर्दै उद्योग वाणिज्य संघका हरेक गतिविधिमा पारदर्शिता कायम गर्ने बताइएको छ।
संघमा हाल १ हजार २४ सदस्य आबद्ध रहेका छन् । संघको यहि असार २७ र २८ गते हुने साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि यहि असार १५ गतेसम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिने समयसीमा तोकिएको थियो ।