कञ्चनपुर, १९ असार / नेपाली साहित्यका वरिष्ठ स्रष्टा, कवि तथा साहित्यकार गणेशदत्त न्यौपाने ‘कौडन्य’को ८२ वर्षको उमेरमा आज निधन भएको छ। उनको निधनसँगै नेपाली साहित्यले छन्दकाव्य, कविता र बाल साहित्यका एक समर्पित तथा बहुआयामिक स्रष्टालाई गुमाएको छ।
वि.सं. २००२ साल जेठ १ गते (अक्षय तृतीया) तनहुँको व्यास–४, बाह्रबिसेमा जन्मनुभएका न्यौपानेका पिता पिताम्बर न्यौपाने र माता दुर्गादेवी न्यौपाने (पवित्रा) हुनुहुन्थ्यो। पछिल्लो समय उहाँको स्थायी बसोबास कञ्चनपुरको पुनर्वास नगरपालिका–२, सीतावस्तीमा रहेको थियो।
‘कौडन्य’ साहित्यिक नामबाट परिचित न्यौपानेले कविता, खण्डकाव्य, महाकाव्य, गीत तथा बाल साहित्यमा उल्लेखनीय योगदान पुर्याउनुभएको छ। उहाँका प्रकाशित कृतिहरूमध्ये आमाको गुनासो र अर्ती (२०५४), नदीका सुमधुर वचन (खण्डकाव्य, २०५६), गुलियो तीतो (डोटेली कविता सङ्ग्रह, २०६१), घर गृहस्थ र वातावरण (काव्य, २०६६), वह (शोककाव्य, २०६८), भेटारो (बाल कविता सङ्ग्रह), भावोद्गार (फुटकर कविता सङ्ग्रह, २०६९), भिजेका अक्षर (खण्डकाव्य, २०७२), हरिशरण (महाकाव्य, २०७३), सहारा (खण्डकाव्य, २०७३), क्वाँटी (कविता सङ्ग्रह, २०७४) र जीवत्व–पद्म गुच्छा (२०८१) रहेका छन्। उहाँको वसुन्धरा नामक वृत्तकाव्य पनि चर्चित कृतिका रूपमा परिचित छ।
साहित्यिक सिर्जनासँगै न्यौपाने ‘कौडन्य चेतना छन्द साहित्य पुरस्कार’का संस्थापक, प्रकाश पुन्ज साहित्यिक पत्रिकाका सम्पादक तथा विभिन्न साहित्यिक संस्थाका आजीवन सदस्यसमेत हुनुहुन्थ्यो। नेपाली भाषा, साहित्य तथा छन्दकाव्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा उहाँले पुर्याएको योगदानलाई साहित्यिक क्षेत्रले सदैव स्मरण गर्ने विश्वास गरिएको छ।
वरिष्ठ साहित्यकार न्यौपानेको निधनप्रति साहित्यकार, स्रष्टा तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।