धनगढी , १७ जेठ / कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजिपुरस्थित बझाङ्गी टोलमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई नगद तथा सामग्रीसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
जेठ १७ गते साँझ करिब साँढे ६ बजेरको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती, इलाका प्रहरी कार्यालय चौमाला तथा अस्थायी प्रहरी पोष्ट राजिपुरबाट संयुक्त रूपमा खटिएको १९ जनाको प्रहरी टोलीले उक्त कारबाही गरेको हो।
प्रहरीका अनुसार गौरीगङ्गा–४ राजिपुरस्थित स्थानीय जगत धामीको दुई तले पक्की घरको माथिल्लो तलाको बैठक कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
स्थलबाट प्रहरीले नगद १ लाख ७९ हजार २०, चार गड्डी तास र ८ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा जगत धामी, कृष्ण गुर्धामी, खेमराज पोखरेल , शंकर धामी , गोपाल साउँद , प्रकाश भुल , जयबहादुर बोहरा , तेजबहादुर बोगटी र कालु सिंह धामी रहेका छन्।
उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकृत योगेन्द्र तिमल्सिनाले जानकारी सुदुरपत्र अनलाइनलाई जानकारी दिए।
प्रहरीका अनुसार उक्त स्थान अस्थायी प्रहरी पोष्ट राजिपुरबाट करिब ३ किलोमिटर पश्चिम–उत्तरतर्फ पर्छ।
