धनगढी । कैलालीको भजनी क्षेत्रमा रहेका ठूला फाँटमा हलगोरु र ट्याक्टर लिएर रोपाइँका लागि तयारी गरिरहेका किसान आकाश हेर्दै भगवानसँग पानी पारिदिन पुकार्थे । तर, त्यही किसानी बस्ती नजिकै रहेको भजनी नगरपालिका–५, पलियापुरका स्थानीय भने बर्खायाममा पानी नपरोस् भन्ने कामना गर्थे । किसानका लागि बर्खामा पानी नपर्दा वर्षभरिको उत्पादनमा चिन्ता बढ्नु स्वभाविक थियो । तर त्यो भन्दा बढी पानी पर्ने वित्तिकै हुने डुवानका कारण विस्तापित हुनुपर्ने डरले पलियापुरबासीलाई सताइरहन्थ्यो ।
पलियापुर बस्तीमा कान्द्रा नदीबाट आउने बाढीले १६ घर सधै डुबानमा पर्ने गर्दथे । वर्षौँसम्म बाढीका कारण उनीहरू बारम्बार विस्थापित हुँदै सडक छेउमा त्रिपालमुनि बस्न बाध्य थिए । यसले उनीहरूको दैनिक जीवनलाई मात्र नभई मानव अधिकार, सुरक्षित आवासको अधिकार र मर्यादित जीवनयापनको अधिकारमा समेत गम्भीर असर पारेको थियो ।
यस चुनौतीपूर्ण अवस्थालाई सम्बोधन गर्न UN Women को नेतृत्वमा सञ्चालन भएको शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर २) ले स्थानीय सरकार र साझेदार संस्थाहरूसँग सहकार्य गर्दै लैङ्गिक तथा सामाजिक समावेशी (जेड्सी) दृष्टिकोणमा आधारित समाधान अघि सारेको होे ।
जसअन्तर्गत, पुलियापुरका १६ विपन्न दलित परिवारका लागि अग्ला सुरक्षित आवास निर्माण गरिएको छ,, जसमा महिलाहरूको सहभागिता, आवश्यकताअनुसारको डिजाइन र समावेशी पहुँचलाई प्राथमिकता दिइएको छ ।

पुलियापुरका सुरक्षित आवास घरका लाभान्वित परिवारका सदस्यहरू
सुरक्षित आवास निर्माणपछि बदलिएको जीवन
सुरक्षित आवास निर्माण पछि , अहिले उक्त समुदायको अवस्था फेरिएको छ । बाढीबाट सुरक्षित अग्ला आवास निर्माण भएपछि बर्खा अब उनीहरूका लागि डरको विषय रहेन । “विगतमा बाढी आउँदा कहाँ जाऊँ, कसरी ज्यान जोगाउँ भन्ने मात्रै सोच हुन्थ्यो,” स्थानीय कोपिला टमटाले विगत सम्झिँदै भनिन्, “अहिल त आफ्नै घरमै सुरक्षित बस्न पाइन्छ । अरू ठाउँ डुबानमा परे पनि हाम्रो घर सुरक्षित हुन्छ ।”
विगतमा बर्खायाममा अधिकांश स्थानीयले करिब चार महिना हुलाकी राजमार्गमै बिताउँथे । त्रिपालमुनि बिताएका दिनहरू सम्झँदै तिलु कामी भन्छिन्, “पानी नपरेको बेला पनि घरभित्र पानी जम्थ्यो । बाढी आयो भने त झन बस्ने ठाउँ नै हुँदैनथ्यो । बच्चा, ज्येष्ठ नागरिक सबैलाई लिएर सडकमै बस्नुपथ्र्यो ।” त्यस अवस्थाले शिक्षा, स्वास्थ्य सेवा पहुँच, सुरक्षामा प्रत्यक्ष असस तथा महिलाहरूको दैनिक जीवनमा थप बोझ सिर्जना गरेको थियो ।
अर्की स्थानीय परुली कामीका अनुसार बर्खामा घरभित्र न सुत्न सकिन्थ्यो, न खाना पकाउन । बालबालिकालाई सुरक्षित राख्न पनि कठिन थियो । नयाँ निर्माण गरिएका घरहरू जलवायु उत्थानशील (-climate–resilient )मात्र नभई जेड्सी मैत्री छन्, जसमा सुरक्षित उचाइ, पर्याप्त हावा–पानीको व्यवस्था, सुरक्षित बसोबासका लागि आन्तरिक संरचना र सबैका लागि पहुँचयोग्य डिजाइन समावेश गरिएको छ
देवी बिक भन्छिन्, “पहिले बाढी आउँदा ज्यान जोगाउन कहाँ जाने भन्ने समस्या हुन्थ्यो । अहिले भने आफ्नै अग्ला घर निर्माण भएपछि ढुक्कसँग सुरक्षित बस्न पाइन्छ ।”
जेष्ठ नागरिक माता कामी र पार्वती कामीले पनि अहिलेको परिवर्तनलाई ठूलो उपलब्धि मान्छन् । “पहिला त बर्खा आयो कि डर लाग्थ्यो,” माताले भनिन्, “अहिले पानी परे पनि डर लाग्दैन ।”


सुरक्षित आवास घरहरु

पुलियापुरकै केही बस्तीहरू अझै बाढीको जोखिममा
९५ लाख ४६ हजार रुपैयाँको लागतमा बनेका ती आवासहरु टिनको छानाले छाएका दुईकोठे संरचनाका आधारित छन्, जसले गर्दा आसपासमा डुबान भए पनि ती घर भने सुरक्षित रहन्छन् । यसले विपद् प्रतिरोधी मात्र होइन, सम्मानजनक, सुरक्षित र अधिकारमा आधारित दिगो बसोबासको आधार तयार गरेको छ ।
यस उदाहरणले स्पष्ट रूपमा देखाउँछ कि विपद् व्यवस्थापन केवल भौतिक पूर्वाधार निर्माणमा सीमित हुनु हुँदैन। यसको प्रभावकारी कार्यान्वयनका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र मानव अधिकारमा आधारित दृष्टिकोणलाई केन्द्रमा राख्नु आवश्यक हुन्छ, जसले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायहरूको विशेष आवश्यकता पहिचान गर्न सहयोग पु¥याउँछ ।
यसले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायहरूको सुरक्षित, सम्मानजनक र समावेशी वातावरण सुनिश्चित गर्दै विपद् जोखिम न्यूनीकरणलाई अझ न्यायपूर्ण र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पु¥याउँछ । साथै, निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न पनि सहयोग गर्दछ ।
