अछाम, ८ वैशाख / वैशाख ३ गतेको त्यो साँझ अहिले पनि भैरवस्थान बल्देका बासिन्दाका मनमा काँडाझैँ गडिरहेको छ। दिनभरि घाँस काटेर थाकेका तीन जनाको परिवार-बुबा पहलसिंह बुढा र उनका दुई छोराहरू दिलीप र नरेश-घर फर्किने तयारीमा थिए। तर उनीहरूलाई थाहा थिएन, त्यो यात्रा उनीहरूको जीवनकै अन्तिम यात्रा बन्नेछ।
कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्रमा पुगेका उनीहरूले बिहानैदेखि काम थालेका थिए। आफ्नै काठे डुङ्गामा पालैपालो पार गर्दै उनीहरू नदी तरेका थिए। जेठो छोरा दिलीपले जिम्मेवारी सम्हाल्दै बुबा र भाइलाई सुरक्षित पारि पुर्याए, अनि आफैं अन्तिममा तरे। दिनभरि तीनै जना मिलेर घाँस काटे, पसिना बगाए, र साँझपख तीन भारी घाँस डुङ्गामा हालेर फेरि नदी पार गरे।
साँझ झमक्क परिसकेको थियो। अँध्यारोले कर्णालीको सतह ढाक्दै थियो। दिलीप फेरि डुङ्गा लिएर बुबा र भाइ लिन गयो। उसले प्रस्ताव राख्यो-“बुबा, पालैपालो जाऔँ।” तर बुबाले थाकेका छोरालाई हेरेर भने-“छोरा, अब सबैजना सँगै जाऔँ।” त्यही निर्णय नै नियतिको मोड बन्यो।
नदीको बीचभागमा पुगेपछि अचानक डुङ्गा पल्टियो। एकाएक चिच्याहट, पानीको छाल, र डरले भरिएको त्यो क्षण—सबै केही एकैपटक भयो। दिलीप जसोतसो पौडिएर किनारमा निस्कियो। ऊ रोइरहेको थियो, गुहार मागिरहेको थियो।
तर पानीभित्र भने अर्को संघर्ष चलिरहेको थियो। नरेश डुङ्गामुनि च्यापिएको थियो। बुबा पहलसिंहले ज्यानको बाजी लगाउँदै छोरालाई निकालेर पिठ्युँमा बोके। उनी नदीसँग लड्दै, छोरालाई बचाउने प्रयासमा पौडिन थाले। तर कर्णालीको तीव्र बहावले उनीहरूलाई बाँकी राखेन। केही क्षणमै बुबा-छोरा दुवै पानीसँगै हराए।
त्यस रातभरि गाउँभरि खोजी चल्यो। आफन्त, छिमेकी, सुरक्षाकर्मी सबै जुटे। तर कर्णाली मौन थियो। अन्ततः वैशाख ५ गते नरेशको शव फेला पर्यो। एक दिनपछि, वैशाख ६ गते बुबा पहलसिंह पनि कर्णालीको खोँचमा मृत अवस्थामा भेटिए।
आज त्यो गाउँ शोकमा डुबेको छ। एक परिवार मात्र होइन, सिंगो समुदायले आफ्नो प्रिय सदस्य गुमाएको छ। घरको मुख्य आधार गुमेपछि ३३ वर्षीया शान्तिकुमारी माझी अझै शोकमै छन्हो-समा फर्किन नसकेको अवस्था। अब उनको अगाडि जीवनको कठोर प्रश्न उभिएको छ—“अब कसरी बाँच्नेरु”
स्थानीयहरू भन्छन्, यो दुर्घटना केवल प्राकृतिक होइन, संरचनात्मक लापरबाहीको परिणाम हो। त्यहाँ आजसम्म एउटा झोलुङ्गे पुलसमेत छैन। दैनिक कामकाजका लागि नदी तर्नैपर्ने बाध्यता छ। घाँस, दाउरा, माछा—सबैका लागि ज्यान जोखिममा राख्नुपर्ने अवस्था।
स्थानीय दुर्गबहादुर बिसीको गुनासो छ-“हामीले धेरै पटक पुल माग्यौँ, तर कसैले सुनेन। हरेकपटक नदी तर्दा डर लाग्छ- आज बाँचिन्छ कि भोलि ?”
कर्णाली नदी अहिले पनि उस्तै बगिरहेको छ। तर त्यसको छालमा अब एउटा परिवारको पीडा, एउटा गाउँको आक्रोश, र राज्यको बेवास्ताको कथा मिसिएको छ।