बसन्ता क्षेत्रको बाढी पीडित बस्ती
छोंटो समयको अस्वभाविक वर्षा र त्यसपछि आउने बाढी जस्ता कारण मानव वस्ती कटानमा पर्दा त्यसको असर नेपालको संरक्षण क्षेत्रमा परेको छ । कैलाली जिल्लामा पर्ने अन्तराष्ट्रिय जैविक मार्ग अहिले बाढी पीडितको बसोबासले भरिन थालेको छ ।
यमुना साउद ,धनगढी/ कैलारी गाउँपालिका–७, भुइँयाफाटा कैलालीकी ६० वर्षिया जवुना चौधरी बसन्ता जंगलमा घर बनाएर बसोबास गरेको १७ वर्ष भयो । भारतको दुधवा नेशनल पार्कदेखि नेपालको तराइ हुँदै चुरेको जंगल सम्म फैलिएको बसन्ता अन्तराष्ट्रिय जैविक मार्ग हो । धनगढीदेखि ३३ किलोमिटर पूर्वमा पर्ने वसन्त करिडोर भएर वन्यजन्तु ओहोर दोहोर गर्छन् । तर, पछिल्ला वर्षमा यो जैविक मार्ग मानवीय अतिक्रमणको चपेटामा परेको छ ।
२०६४ सालको असोज ४–६ सम्म मोहना नदीमा आएको बाढीले भुइयाफाटा गाउँका ७ गाउँ डुवानमा परे । बाढीपछि अस्थायी रुपमा बसन्ता क्षेत्रमा बसोबास सुरु गरेका उनीहरुको स्थायी बसोबास नै यही क्षेत्रमा हुन पुग्यो । जवुना चौधरी जस्तै बसन्ता क्षेत्रमा अहिले १ हजार ४ सय ३५ परिवार बसोबास गरिरहेका छन् । जसले गर्दा बसन्ता क्षेत्रको जंगल फंडानी भएको छ । डिभिजन वन कार्यालय कैलालीका अनुसार बसन्ता संरक्षित बनको क्षेत्रफल ६८ हजार ८३६ हेक्टर छ । पहिला ६९ हजार १ हेक्टर रहेको थियो उक्त क्षेत्रमा पवेरा, खैरहुवा, शिव, वसन्ता वन र लठ्ठहुवा सामुदायिक वन छन् । यी सामुदायिक वनमा हो मानिसको बसोबास भएको छ ।
मोहना नदी कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १० स्थित बेलानी सामुदायिक वन को चुरे क्षेत्रबाट सुरु हुन्छ । जसलाई तल पुग्दा मोहना भनिन्छ । कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा मुहान रहेको मोहना कैलालीको गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सीमा क्षेत्र उत्तर दक्षिण दिसा भएर बग्दै आएको छ । जुन गोदावरी नगरपालिका र कृष्णपुर नगरपालिका छुट्याउँदै दक्षिणतर्फ धनगढी उपमहानगरपालिका, कृष्णपुर नगरपालिका र अझै दक्षिणतर्फ आउँदै गर्दा कञ्चनपुरको पुनर्वास नगरपालिका सीमा भएर बग्ने गर्छ । जुन मोहना कैलालीको त्रिनगर भन्सार पुग्दा भारत र नेपालको सीमा हुँदै कर्णाली नदीमा मिसिन्छ । भुइयाफाटाका स्थानीय चन्द्रिकाप्रसाद यादवका अनुसार मोहना नदीले हरेक वर्ष जसो धार परिवर्तन गर्छ । “पहिला यसरी ठूलो भएर मोहनामा पानी आउने गरेको सम्झना छैन । अहिले महिना दिनसम्म पनि सुख्खा हुन्छ । अनि एक्कासी ठूलो पानी परेर मोहनामा ठूलो बाढी आउँछ,” उनी भन्छन् “जसले गर्दा मानव वस्ती नै असुरक्षित हुन पुगे ।”

चार दशकमा मोहना नदीले यसरी गर्यो धार परिवर्तन । स्रोत: गुगल अर्थ टाइमल्याप्स
डिभिजन वन कार्यालय कैलालीले अतिक्रमण गरेर बसोबास गरेकाहरुलाई हट्नका लागि पटक पटक सूचना जारी गरेपनि अहिले सम्म हटाउन सकेको छैन । डिभिजन वन प्रमुख बिचारी ठाकुर वन कार्यालयले गरेको प्रयास सफल नभएको बताउँछन् । “यो विषय वन कार्यालय एक्लैको होइन, सम्पूर्ण राजनीतिक दल, सुरक्षा निकाय सवैको सहयोग आवश्यक छ,” उनले भने ।
सरकारको लक्ष्यमा तगारो
जलवायु असर न्यूनिकरणमा वनको महत्वपूर्ण भूमिका रहन्छ । उद्योग, यातायात जस्ता मानविय क्रियाकलापका कारण उत्सर्जन भएको कार्वन सञ्जित गरेर तापक्रम न्यूनिकरणमा वनको महत्वपूर्ण भूमिका हुन्छ । त्यसकारण नै वनलाई कार्वनको भण्डारण भनिएको हो । राष्ट्रिय वन सर्वेक्षण २०१५ का अनुसार नेपालको बार्षिक कार्वन भण्डारण क्षमता १ हजार १५९ मिलियन मेट्रिक टन रहेको छ ।
रेड कार्यान्यन केन्द्रका अनुसार सरकारले नेपालको तराई क्षेत्रका १३ जिल्लामा रहेको वनका आधारमा विश्वव्याङ्संग सन २०२१ मा कार्वन खरिद विक्रि सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार १४ मिलियन कार्वन सञ्चित भएको हुनुपर्छ । त्यसका लागि वनको दिगो व्यवस्थापन, आगालागी नियन्त्रण, वनको क्षयिकरण रोकिएर वनको कार्वन सञ्चित क्षमता वृद्धि भएको हुनुपर्छ । तर, कैलाली जिल्लाको उदाहरणले सरकारले लक्ष्यमा तगारो देखाउँछ । त्यही कारण नै सन २०२२ मा भएको वन कार्वन सर्वेक्षणमा १४ मिलियन अर्थात् एक करोड ४० लाख टन कार्बन सञ्चिति भएको हुनुपर्नेमा नभएको देखियो । यदी लक्ष्य अनुसार काम भएको भए नेपालले झन्डै ५ अर्ब रुपैयाँ प्राप्त गर्दथ्यो । तर, रु १ अर्ब ३० करोड रुपैयाँ मात्र विश्वव्याकबाट नेपालले प्राप्त ग¥यो ।
विनाशको दर, दिगो वन व्यवस्थापनका प्रयास तथा वन संरक्षण गतिविधिहरूको प्रभावकारिता मूल्यांकन गरिएको भए पनि अपेक्षित परिणाम हासिल हुन नसकेको रेड कार्यान्वयन निकायका प्रमुख नवराज पुडासैनीले बताए । वन डढेलो, अतिक्रमण, अव्यवस्थित चरिचरण तथा दिगो वन व्यवस्थापनलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न नसक्नु जस्ता चुनौतीका कारण कार्बन व्यापारसम्बन्धी लक्ष्य पूरा गर्न कठिन भएको उनले बताए । वसन्ता क्षेत्र जस्तै कैलालीका अन्य वन क्षेत्रमा पनि मानिसको बसोबास बाक्लिएको छ । डिभिजन कार्यालय कैलालीका अनुसार कैलालीको कूल ३ लाख ३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये २ लाख ५ हजार हेक्टर क्षेत्रफल वन क्षेत्रले ओगटेको छ । जसमा २५ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । दुर्भाग्य, सरकारी आँकडामा भने यो अतिक्रमित क्षेत्रफललाई वनमा नै गणना गरिएको छ ।
वसन्ता अन्तर्राष्ट्रिय जैविक मार्गसँगै जोडिएको भजनी नगरपालिकामा पनि बाढी पीडितका नाममा वन अतिक्रमण तीब्र छ । भजनीको वडा नम्बर १ स्थित मोहन्याल सामुदायिक वन उपभोक्ता समितिको ४ दशमलव २२ हेक्टर जमिनमा २० घरधुरी रहेका छन् । २०६४ सालको बाढीबाट विस्थापित भएर उनीहरु त्यहाँ बसोबास गर्न थालेका थिए । मोहन्यालमा जस्तै अन्य वन क्षेत्रमा पनि प्राकृतिक विपत्तिबाट प्रभावितहरुको बसोबास छ । सब डिभिजन वन कार्यालय भजनीका वन रक्षक प्रकाश महर विभिन्न ठाउँमा विपत्तिबाट प्रभावितहरुको बसोबास रहेको र त्यसले गर्दा वनको क्षेत्र अतिक्रमण भएको बताउँछन् । “बाढी पहिरोबाट घरबार विहिन भएर बसेकाहरुलाई रोक्न मिलेन, वन क्षेत्रमा वस्ती बस्दा वनको क्षेत्र विस्तारै घट्दै गएको छ,” उनी भन्छन् “यस्ता पीडितहरुलाई कहाँ राख्ने सरकारले नै ठोस योजना बनाउनुपर्छ ।”