धनगढी,२ साउन । कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी कुटिएपछि सेवा प्रभावित भएको छ। नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीले बिहीबार धर्मानन्दलाई कार्यकक्षमा नै कुटपिट गरेपछि शुक्रवार सेवा प्रभावित भएको हो।
गौरीगङ्गा नगरपालिकाका कर्मचारीहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै अति आवश्यक बाहेकका काम गर्न नसकिने बताएका छन् । दोषीलाई कानुनी कारबाही र कर्मचारीहरूलाई सुरक्षाको वातावरण तयार पार्न माग गरेका छन्। नगरपालिकाका सबै कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरू स्थगन गरिएको हो।
कर्मचारीहरूले सार्वजनिक गरेको विज्ञप्तिमा बिहीबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत धर्नानन्द जोशीमाथि कार्यकक्षमा कुटपिट तथा अभद्र व्यवहार गरिएको उल्लेख गरिएको छ।