धनगढी, १ साउन / आर्थिक वर्ष २०८१/८२ मा सुदूरपश्चिम प्रदेशमा भएका सवारी दुर्घटनामा १ सय ९२ जनाको ज्यान गएको छ भने ९ सय ६६ जना गम्भीर घाइते भएका छन्। प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएको तथ्याङ्कअनुसार यो अवधिमा जम्मा १ हजार ७ सय १६ वटा सवारी साधन दुर्घटनामा परेका थिए।
जिल्लागत विवरण अनुसार सबैभन्दा बढी दुर्घटना कैलालीमा भएका छन्। कैलालीमा मात्रै ७ सय ७३ सवारी दुर्घटना हुँदा ८६ जनाको मृत्यु भएको छ। त्यसपछि कञ्चनपुरमा ६ सय ७० सवारी दुर्घटना हुँदा ३८ जनाले ज्यान गुमाएका छन्।
अन्य जिल्लाहरूमा डोटीमा १२, डडेल्धुरामा १४, बैतडीमा १०, अछाममा ४, दार्चुलामा १२, बझाङमा ६ र बाजुरामा १० जनाको गरी प्रदेशभरि जम्मा १ हजार ७ सय १६ सवारी दुर्घटना हुँदा पुरुष १४२ महिला ३३ बालक १२ बालिका ५ गरी जम्मा १ सय ९२ जनाको मृत्यु भएको ट्राफिक प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए।
गम्भीर घाइतेको सङ्ख्या पनि प्रदेशभरि ९ सय ६६ र साधारण घाइतेमा १ हजार ४३ रहेको तथ्याङ्कमा उल्लेख छ।
सवारी साधनहरूको संलग्नता हेर्दा सबैभन्दा धेरै मोटरसाइकल, जिप, कारलगायतका साना गाडी दुर्घटनामा परेका छन्। त्यसपछि टिपर, ट्रक, टेम्पो, बस लगायत अन्य ठूला सवारी साधनहरू छन्।
यातायात प्रणालीको सुधार , ट्राफिक सचेतनाको आवश्यकता , सवारी साधनको चाप, लापर्बाहीपूर्वक गाडी चलाउने प्रवृत्ति, ट्राफिक नियमको उल्लंघन र सडक पूर्वाधारको अभावका कारण यस्ता दुर्घटनाहरू भइरहेका प्रदेश ट्राफिक प्रहरी प्रमुख शाहीले बताए।
गत वर्षको भन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढेकाले स्थानीय सरकार, प्रहरी प्रशासन र सरोकारवाला निकायले तत्काल ध्यान नदिए सुदूरपश्चिममा दुर्घटनाको दर अझै बढ्ने चिन्ता व्यक्त गरिएको छ।