धनगढी, ५ असार / कैलाली जिल्ला कारागारमा एक कैदीको रहस्यमय मृत्यु भएको घटनामा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई पक्राउ गरिएको छ। मृतक डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिस सिंह पाली हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार, मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा सई नाथलाई नियन्त्रणमा लिइएको हो। पालीमाथि बैंकिङ कसुर मुद्दा दायर गर्ने व्यक्ति पनि सई नाथ नै थिए। जिल्ला अदालतले २०८० फागुनमा पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।
जेठ २९ गते डडेल्धुराबाट पक्राउ परेका पालीलाई ३० गते धनगढी ल्याइयो र अदालतमा उपस्थित गराएपछि असार १ गते कारागार चलान गरिएको थियो। तर, असार २ गते राति करिब १०:३० बजे बाथरुम नजिकै अचेत अवस्थामा भेटिएका पालीलाई सेती प्रादेशिक अस्पताल पुर्याइए पनि सोही राति उनको मृत्यु भएको थियो।
मृतककी पत्नी जानकी साउँदले कारागारभित्र योजनाबद्ध रुपमा कुटपिट गरी श्रीमानको हत्या गरिएको आरोप लगाएकी छन्। उनले कारागार प्रमुखसहित पाँच जनाविरुद्ध जाहेरी दिए पनि प्रहरीले बिहीबार सई नाथविरुद्ध मात्र जाहेरी दर्ता गरेको हो।
नाथलाई नियन्त्रणमा लिएपछि पीडित पक्ष शव बुझ्न तयार भएको छ। सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम सकिएपछि शव परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।