धनगढी ३ असार/ जिल्ला कारागार कैलालीका कैदीबन्दी हरिश सिङ पालीको शव सेती प्रादेशिक अस्पतालको शव गृहबाट उठ्न सकेको छैन। आफन्तहरूले सत्यतथ्य छानबिन भई न्याय नपाउँदासम्म सब नउठाउने अडान लिएका छन्।
असार १ गते मात्रै कारागार चलान भएका पालीलाई असार २ गते बिहान ११ बजेर ३० मिनेटमा एकाएक बिरामी भए पछि प्रादेशिक अस्पताल धनगढीमा पुर्याएको प्रहरीले जानकारी दिएका छन्।
तर डडेल्धुराका व्यवसायी पालीलाई डडेलधुराबाट निजी गाडीमा हालेर कैलाली ल्याई दुई दिनको अन्तरालमै मृत्यु हुनु फिल्मी शैली भएकाले यसको सत्यतथ्य छानबिन नहुँदासम्म शव नउठाउने मृतकका काका पदमसिंह पालीले बताएका छन्। प्रहरीको मिलेमतो रहेको हुनाले वास्तविकता को छानबिन नहुँदासम्म आफूहरू कुनै हालतमा शव उठाउने पक्षमा नरहेको उनको भनाइ रहेको छ। मृतकका आफन्तहरूले अदालतमा मुद्दा दर्ता गर्ने तयारीमा रहेको समेत जानकारी दिएका छन्।