यमुना साउद ,धनगढी,१४ वैशाख / सुदूरपश्चिममा विद्यालय छोड्ने विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएको छ । सुदूरपश्चिममा कक्षा १ मा भर्ना भएका आधा विद्यार्थी माध्यमिक शिक्षा (एसइई) सम्म पुग्न सकेनन्। गरिबी, बालविवाह, रोजगारीको खोजी र अभिभावकको कम चासोका कारण पनि धेरैले पढाइ छोडेका छन् । वि.स २०७२ मा १ लाख १५ हजार ५३८ विद्यार्थी भर्ना भएका थिए। अहिले एसइईमा ५८ हजार ९४३ मात्र सहभागी भएका थिए । यो तथ्यले करिब आधाभन्दा बढी विद्यार्थीले बिचमै पढाइ छोडेको स्पष्ट छ ।
पढाई छोड्नका विभिन्न कारण मध्ये एक कारण हो जनचेतनाको अभाव । धेरै अभिभावकलाई शिक्षाको महत्त्वबारे थाहा छैन। उनीहरू पढाइभन्दा तत्कालको आम्दानीलाई प्राथमिकता दिन्छन्। “पढेर जागिर पाइहाल्ने होइन, त्यसैले सानैमा कमाउन सिक्नुपर्छ भन्ने सोच यहाँका धेरै अभिभावकको छ,यही कारणले कतिपयले ८ कक्षा मै परीक्षा दिँदैनन् ।” डोटी जोरायल ६ दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवानन्द ठाकुरले बताए।
कुलतका कारणले पनि विद्यार्थी पढाइ छोड्ने गरेको बाजुराको मार्तडीस्थित मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक सुभ राज पाध्यायले बताए । उनले भने “कतिपय विद्यार्थी पढाइ छोडेर घरमै बस्ने गरेका छन् भने कतिपय साथीहरूसँग कुलतमा फस्ने गरेका छन्। त्यस्तै, केही विद्यार्थी घरमै खेतीपातीको काममा संलग्न भएर पढाइबाट टाढा रहेका छन्।”
शिक्षाको दीर्घकालीन फाइदाबारे अभिभावकहरूलाई बुझाउन नसक्दा समस्या झन् जटिल बन्दै गएको छ । यस्तै अर्को कारण हो सानै उमेरमा भारत पलायन । सुदूरपश्चिमका किशोर किशोरीहरू कक्षा ५वा ६ पढ्दापढ्दै रोजगारीको खोजीमा भारतका सहरहरू जस्तै दिल्ली, मुम्बई र पन्जाबतिर जाने गर्छन्। “हाम्रा विद्यार्थीहरू १४–१५ वर्षको उमेरमै भारत गएर होटेलमा भाँडा माझ्ने वा मजदुरी गर्ने गर्छन्, पढ्नुपर्छ भन्ने उनीहरूको कन्सेप्ट नै छैन ।” चुरे १ केदारेश्वर आधारभूत विद्यालयका शिक्षक धिरज साउँदले भने ।
सुदूरपश्चिमका किशोर किशोरीहरू कक्षा पाँच–छ पढ्दै भारतको दिल्ली, मुम्बई, पन्जाब र बेंगलोरतिर रोजगारीका लागि पलायन हुने क्रम बढ्दो छ । १४–१५ वर्षको उमेरमै बालबालिका विद्यालय छोडेर भारतका सहरमा होटेलमा भाँडा माझ्ने वा निर्माण क्षेत्रमा मजदुरी गर्न जाने गरेको चुरे गाउँपालिका–१ मा रहेको केदारेश्वर आधारभूत विद्यालयका शिक्षक धिराज साउँदले बताए ।
“हाम्रा धेरैजसो विद्यार्थीहरूलाई पढ्नुपर्छ भन्ने चेतनै छैन। अहिले त विद्यालयमै पढिरहेका किशोरीहरू पनि ब्याङ्गलोर गएका आफन्तबाट प्रभावित भएर पढाइ छोड्न थालेका छन्,” शिक्षकले साउँदले भने ।
विशेष गरी किशोरीहरूबिच भारतको ब्याङ्गलोर जाने होडबाजी नै चलेको देखिन्छ। “ब्याङ्गलोरबाट फर्किएका दिदीबहिनी वा छिमेकीहरूले ल्याउने मोबाइल, लुगा र पैसा देखेपछि उनीहरू पनि त्यही बाटो हिँड्न चाहन्छन्,” उनले भने। यसबाहेक परिवारको सोच र आर्थिक अवस्था पनि बालबालिकाको पलायनको मुख्य कारण बनेको छ। अभिभावकहरूले छोराछोरीलाई विद्यालयमा राख्नुको साटो भारत जान दिएर कमाइ गर्न प्रेरित गरिरहेका छन्।
“साँझ–बिहान खान पुग्दैन, भारत गएर काम गर्छन्, आफैँ पालिन्छन् भन्ने सोच बढ्दो छ,” शिक्षक धिराज साउँदले भने, “अभिभावकहरू भन्छन्— चार–पाँच कक्षा पढिसके, हिसाब त गर्न जानिसके, अब भारत गएर कमाउँछन् आफैँ पालिन्छन् । ”
चुरेका अधिकांश बालबालिकाहरू विद्यालय छाडेर रोजगारीका लागि भारतको बेंगलोर जाने गरेका छन्। अभिभावकको बेवास्ता, शिक्षा प्रणाली र भविष्यप्रतिको अन्योलयताले गर्दा बालबालिका विद्यालय जान छाडेर भारत जाने गरेका छन् ।
त्यहाँका अभिभावकहरू भन्छन्, “केटाकेटी आफै पनि पढ्न चाहँदैनन्, जबरजस्ती गर्न पनि भएनन्, पढ्न मन भए पढ्छन्, नभए भारत गएर काम गर्छन्।“ उनीहरूको भनाइमा, पढेपछि पनि खास अवसर नपाउने भएकाले बालबालिकालाई पढाइप्रति जोड नदिएको स्पष्ट हुन्छ ।
बालबालिका विद्यालय छाडेर भारत जानु न त उनीहरूको उमेर अनुकूल छ, न त भविष्यका लागि सुरक्षित। तर जब गाउँमै अवसरको अभाव छ र परिवारको सोचमा पनि परिवर्तन आउन सकेको छैन, तब उनीहरूका लागि पढ्नभन्दा काम गर्ने बाध्यता बनिरहेको छ।
शिक्षाप्रति भन्दा पनि पैसाप्रतिको मोहले गर्दा बालबालिका विद्यालय छोड्ने अवस्था सिर्जना भएको छ। शिक्षाको पहुँच पुगे पनि महत्त्व नबुझिनुले ग्रामीण क्षेत्रमा शिक्षाको भविष्य अझै अन्योलमा परेको देखिन्छ।
यो चिन्ताजनक अवस्थाले सुदूरपश्चिमको शैक्षिक भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ। पढाइ छोड्नुका विविध कारणहरू सुदूरपश्चिममा विद्यार्थीहरूले विद्यालय छोड्नुका पछाडि विभिन्न कारणहरू रहेको शिक्षा बिकाश निर्देशनालयका सुचना अधिकारी कृष्ण बोहरा बताउछन् । एउटा कारण हो आर्थिक गरिबी। यहाँका अधिकांश परिवारको आर्थिक अवस्था कमजोर छ, जसले गर्दा अभिभावकहरूले आफ्ना बालबालिकालाई पढाउनुभन्दा सानै उमेरमा काममा लगाउन बाध्य हुन्छन्। उनले भने “पहिले पहिले परिवारको एक जना मात्रै कामको लागी भारत जाने गरेका थिए । तर अहिले परिवारका सबै सदस्य नै कामका लागी भारत जान्छन् । चेतना स्तर न्युन छ । कतिपय सानै उमेरमा बिहे गरेर पढाई छोड्छन् ।”
राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशका झन्डै १२.७४ प्रतिशत जनसङ्ख्या रोजगारीको सिलसिलामा बिदेसिएका छन्। कुल २६ लाख ९४ हजार ७८३ जनसङ्ख्या रहेको सुदूरपश्चिमबाट ३ लाख ४३ हजार ५२३ जना विदेश गएका छन्।
विदेश जानेहरूमा सबैभन्दा ठुलो सङ्ख्यामा भारत रोजगारीको प्रमुख गन्तव्य बनेको देखिएको छ। तथ्याङ्कअनुसार ३ लाख १० हजार २६१ जना सुदूरपश्चिमीले भारत गएका छन्। भारत जानेमध्ये दुई लाख २५ हजार ९३८ जना पुरुष छन् भने महिला ८७ हजार ७६२ जना रहेका छन् । यसमा पनि १५ देखी २४ वर्ष उमेरका एक लाख ३७ हजार सात सय २१ जना युवा भारतमा छन् ।
सुदूरपश्चिम प्रदेशबाट वैदेशिक रोजगारीमा जानेमध्ये दुई लाख पाँच हजार २९० जना श्रमिक ज्याला मजदुरीकै लागि बिदेसिएका छन्। वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समूहका छन्। पछिल्लो तथ्यांकअनुसार, सो उमेर समूहका एक लाख छ हजार ६१२ जना बिदेसिएका छन्।
त्यस्तै, २५ देखि ३४ वर्ष उमेर समूहका ५६ हजार ९सय४१ जना, ३५ देखि ४४ वर्षका २४ हजार ३ सय ३९ जना तथा ४५ देखि ५४ वर्ष उमेर समूहका ९ हजार ८१ जना रहेका छन्। ५५ देखि ६४ वर्ष उमेर समूहका दुई हजार ५ सय १८ जना वैदेशिक रोजगारीमा गएका छन् भने ६५ वर्षभन्दा माथिका २ सय ७४ जना अझै पनि ज्याला मजदुरीको सिलसिलामा बिदेसिएका छन्।
सबैभन्दा चकित पार्ने तथ्य भनेको १४ वर्षमुनिका ५ हजार ५२५ जना बालक पनि श्रम गर्न विदेश गएका छन्। यस्ता तथ्यले बालश्रम तथा युवा श्रमको बढ्दो प्रवृत्तिलाई देखाएको छ।
यस्तै राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार, सुदूरपश्चिम प्रदेशबाट विभिन्न उमेर समूहका ७३ हजार २३९ जना व्यक्तिहरू आधारभूत तह उत्तीर्ण गरी वैदेशिक रोजगारीमा गएका छन्। तीमध्ये अधिकांशले प्रारम्भिक कक्षा मात्र पुरा गरेका छन्।
तथ्यांकअनुसार, कक्षा ५ सम्म अध्ययन गरेका ७४ हजार ९६९ जना बिदेसिएका छन् भने आधारभूत तह (कक्षा ६ देखि ८) सम्म अध्ययन गरेका ६६ हजार २ सय ५६ जना वैदेशिक रोजगारमा गएका छन्।
भारत पलायन रोक्न स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्न पनि उत्तिकै महत्त्वपूर्ण छ। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमको यो समस्याप्रति चासो देखाए पनि प्रभावकारी पहल भने अझै हुन सकेको छैन। स्थानीय सरकार र समुदायको सहकार्यमा ठोस योजना बनाएर कार्यान्वयन नगरे यो प्रवृत्ति अझै बढ्न सक्ने देखिन्छ। सुदूरपश्चिमका विद्यार्थीको भविष्य उज्ज्वल बनाउन अब ढिला गर्न नहुने आवाज उठ्न थालेको छ ।