आमा,
हजुरको महिमा समुद्रको गहिराइ जस्तै छ,
जसको तल्लो किनारा भेट्टाउने
कुनै साहसिक यात्रु जन्मिएको छैन।
हजुरको मायाको उज्यालो सूर्यजस्तै नित्य छ,
जस्को सामु सबै रंगहरू एकआपसमा
मिसिएर बनेको इन्द्रेणी पनि फिक्का देखिन्छ;
हजुरको ममताको उज्यालोसँग।
हजुर बिना जीवनको कल्पना गर्नु भनेको,
शुष्क मरुभूमिमा पानी खोज्न जस्तै हो
निरस, असम्भव र वेदनापूर्ण
हजुर हुनुहुन्छ त मेरा पाइलाहरूमा दिशा छ,
नत्र यो बगरमा हराएका बादलजस्तै
म अस्तव्यस्त हुन्थेँ।
हजुरको मुस्कान जूनको चन्द्रमाजस्तै सौम्य छ,
जुन अन्धकार रातमा पनि
मेरो आत्मालाई बाटो देखाइदिन्छ,
हजुरको आशिष त अविरल बगिरहने गंगा हो,
जसले मेरो हर सोच, हर यात्रा,
सँगै हर सपना पवित्र तुल्याउँछ।
जब जीवनको आँधीले
मनका स-साना बोटहरू उखेल्न खोज्छ,
तब हजुरको ममताको जरा
गहिरो भएर मलाई भूमिमा गाँसिदिन्छ,
हजुर हुनुहुन्छ त्यो वटवृक्ष,
जसको ओझले मेरो जीवन सधैं शीतल रहन्छ।
संसारका सुखहरू
सुनौलो ताजजस्तै चम्किला लाग्न सक्छन्,
तर आमा,
हजुरको मायामा त्यो सरलता, त्यो न्यानोपन छ,
जसलाई कुनै हीराको चमकले जित्न सक्दैन;
हजुरको एउटा स्पर्शले
संसारका सबै घाउहरू निको हुन्छन्,
हजुरको एउटै दृष्टिले
हजारौँ शान्तिको नदी बग्छन्।
आमा,
हजुर त समयको पहरामा उभिएको
एउटा अमर दीप हुनुहुन्छ
कहिल्यै निभ्न नखोज्ने, कहिल्यै थाक्न नजाने
हजुरको माया मेरो लागि
ब्रह्माण्डको अन्तिम सत्य हो
जहाँ न त सन्देहको कुनै स्थान छ
न अन्त्यको कुनै डर।
हजुर हुनुहुन्छ त म छु
हजुर हुनुहुन्छ त मेरा सपना, मेरो संघर्ष,
र जीवन सबैको अर्थ छ;
आमा,
हजुर बिना म शून्य हुँ, अस्तित्वहिन हुँ,
अझ कल्पनाहिन हुँ;
मेरो प्रारम्भ र अनन्त आमा
केवल आमा !!!