यमुना साउद ,धनगढी,६ चैत / सितल हावापानि , हरियो देखिने तरकारी खेतीले यहाँ पुग्ने जो कोहीलाई पनि आनन्दित तुल्याउने गर्छ। छिटफुट बस्ती वरिपरि तरकारीले गाउँ नै हरियो देखिन्छ । सहजपुरबाट करिब ५ घन्टा पैदल हिँडेपछि पुग्न सकिन्छ चुरे गाउँपालिका–१,काप्रा मगर बस्तीमा । यहाँका अधिकांश बासिन्दा कृषि पेसामा आबद्ध छन्। पुस्तौंदेखि कृषि पेशामा रमाइरहेका छन्।
६० वर्षीय तप बहादुर घर्ती मगरले २ रोपनी जग्गामा तरकारी खेती गरेका छन्। सम्म परेको जग्गामा टमाटर, काउली, सिमि लगायत तरकारी लगाएका छन् भने बाह्रै मास तरकारी खेती गरेर आम्दानी गर्ने गर्छ। सिजन अनुसारका तरकारी लगाउँछन् भने बेमौसमी खेती पनि गर्ने गरेको मगर बताउँछन्। ‘तरकारीले मेरो बारी हरियो बन्दै छ,’ मगरले भने, ‘धन कमाउन युवा बिदेसिने क्रम बढेको छ, मेहनत गरे आफ्नै ठाउँमा सुन फलाउन सकिन्छ ।’
आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिँचाइ र मलजलको प्रबन्ध मिलाउनु, दिनभर खेतबारीकै काममा व्यस्त हुनु मगरको दैनिकी हो। आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका उनलाई अहिले तरकारी खेतीको स्याहारसुसार गर्न भ्याइनभ्याई छ । बारीभरी लगाइएको तरकारीले मनै आनन्दित बनाउने गरेको उनको भनाइ छ। यातायातको सुबिधा गाउँमै गाडी पुग्ने भएका कारण पनि टिपेका तरकारी बिक्री गर्न सजिलो हुने गरेको मगरले बताए।
प्रशस्त धन कमाउन विदेशै जानुपर्छ भन्ने मान्यता बोकेका युवालाई मगरले चुनौती समेत दिएका छन्। ‘धन कमाइ हुने आसमा धेरै युवा भारत गएका छन्,’ मगरले भने, ‘बारीमा लगाएको तरकारीबाट सिजनमा २ लाख सम्म कमाइ हुन्छ।’ उनले वारि भरी गोलभेंडा लगाएका छन्। सिजनमा गोलभेंडा खेती र मौसम अनुसारका तरकारी लगाउँछन्। पुस्तौंदेखि कृषि पेसा अँगालिरहेका उनका परिवारले कृषिलाई नै मुख्य पेसा बनाएर अँगालिरहेका छन्। सुरुसुरुमा दैनिक छाक टार्न मात्रै तरकारी लगाउने गर्थे। ८ वर्ष भयो उनले तरकारी खेती गरेको। केही वर्षदेखि व्यावसायिक रुपमा नै तरकारी खेती गर्न थालेका हुन्।
यस्तै तरकारि खेतिमै अर्का किसान रिमा मगरको पनि दैनिकी प्रायः करेसाबारीमै बित्ने गर्छ। तरकारीमा मलजल, पानी, झार उखेल्नेदेखि टिपेर लैजानेसम्मको काम गर्न भ्याउँछिन्। मगरले पनि वारि भरि तरकारी लगाएकी छिन् । तरकारी खेती गर्न मिल्ने, रोग र किराको संक्रमण बारे जानकारी भएकाले यसरी खेती गर्न थालिएको उनले बताए । ‘ तरकारी लगाउँदा मूल्य पनि धेरै पाइन्छ, पहिला मकै गहुँ खेति गर्दा दुई महिना खान पुग्दैन थियो ’ उनले भने, ‘व्यावसायिक रुपमै खेती गर्दा एक सिजनमै १ लाख ५० हजारसम्म कमाई भएको छ ।’
जिल्लामा पछिल्लो समय आधुनिक पद्धतिबाट तरकारी खेती गर्ने क्रम बढेको छ। व्यावसायिक रुपमै तरकारी खेती गर्न किसान आकर्षित भएपछि नयाँ नयाँ पद्धतिको प्रयोग बढेको हो। व्यावसायिक तरकारी खेतीमा लागेका किसानले टनेल घर बनाउने र किटनाशक औषधी, कृषि औजार समेत प्रयोग गरिरहेका छन् । त्यस्तै तरकारी खेतीलाई चाहिने प्राविधिक सहयोग भने विभिन्न कृषि बिज्ञबाट लिने गरेका छन् । व्यावसायिक तरकारी खेती गरेका मगर समुदायले महिनामा ३० देखि ४० हजारसम्म कमाइ गर्छन्। यसैको आम्दानीबाट दैनिक घरखर्च टार्ने तथा बालबच्चालाई पढाउने गर्छन्।
३३ घरधुरी रहेको मगर समुदायका प्रायः किसानको दैनिकी तरकारी खेतीमा नै बित्ने गर्छ। यहाँका प्रायः सबै किसानले तरकारी खेती गर्ने गरेका छन्। बिहान उठेदेखि साँझ नहुञ्जेल माटोमा रमेर समय बिताउनु, बालीको स्याहारसुसारमा समय बिताउनु, समय समयमा खेतीबालीको रेखदेख गरिरहनु र उत्पादित तरकारी संकलन गरेर सडक सम्म पठाउनु यहाँका किसानको दैनिकी बनेको हो । उनीहरु पछिल्लो समय तरकारी खेतीतर्फ आकर्षित भएका छन्। आर्थिक अवस्था कमजोर भएकाहरू पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै छन्। बाँसका टहरामा प्लास्टिक लगाएर टनेल बनाइ बाह्रै महिना तरकारी खेती गर्न सकिने किसानको भनाइ छ।
तरकारीको पकेट क्षेत्र मानिने चुरेमा पछिल्लो समय पानी तथा बीउबिजनको समस्याले तरकारी उत्पादनमा ह्रास आइरहेको छ । किसानलाई नै सहज हुने हिसाबले प्राविधिक सल्लाह तथा तालिम प्रदान नहुदाँ किसानले तरकारी खेति गर्ने जग्गा बढाउन सकेका छैन् । ‘सुरुमा परम्परागत ढंगले तरकारी खेती गरिन्थ्यो,’ रिमा मगरले भने, ‘बीउविजन तथा तालिम नपाए यातायातको सुबिधा भएपछि आफ्नै तरिकाले तरकारी खेतीतर्फ लागेका हौ।’
चुरेलाई तरकारीको पकेट क्षेत्रको रुपमा लिइन्छ। यहाँ उत्पादन भएको तरकारीले धनगढी ,अत्तरिया हुँदै काठमाडौं लगायत ठूला सहरका भान्सालाई पु¥याइरहेका छन्। व्यावसायिक क्षेत्रमा लागेका किसानले आधुनिक प्रविधिमैत्री खेतीमा जोड दिँदै आएका छन्। व्यावसायिक कृषिलाई जोड दिने हो भने सजिलै आर्थिक क्रान्ति हुने र देशमा परिवर्तन आउने किसानहरुको भनाइ छ।
