कुनै समयमा राणा शासन हटाएर प्रजातन्त्र ल्याउनको लागि विरोध गरिएको थियो। यसैगरी प्रजातन्त्र हटाएर निरंकुश पञ्चायतको लागि पनि कुनै दम्ब नै गरिएको थियो । त्यसपछि पञ्चायत हटाउन त झन् १९ दिन लगातार युद्ध नै गरेर फेरि प्रजातन्त्र पुनर्बहाली गरिएको इतिहास हामीसँग छ। प्रजातन्त्र आएसँगै गणतन्त्रको खोजीमा ५२ सालमा सानो झिल्का बाट सुरु भएको माओवादी जन आन्दोलनले १० वर्षको अन्तरालमा विशाल रुप लिएको हामीले देख्यौ, पढ्यौ र सुन्यौ यो दुई दशक अगाडिको घटनाक्रम हो ।
हरेक मान्छेलाई फरक स्वाद चाहिएको छ। यसमा कुनै दुईमत छैन। त्यो फरक स्वाद यदि आफू अनुकूल भएन भने त्यो कसैले पनि मन पराउँदैन। चाहे खाना होस् या शासन व्यवस्था नै किन नहोस् हरेकलाई आफू अनुकूलको स्वाद मनपर्छ र भए हुन्थ्यो भन्ने महत्वकांक्षाको अपेक्षा हुन्छ।
पछिल्लो समयमा यस्तै यस्तै घटनाक्रम नेपालको सन्दर्भमा पनि बढ्दै गएका छन्। कसैलाई राजा चाहिएको छ कसैलाई प्रदेश सरकार खारेज गर्नुपर्नेछ। कसैलाई प्रत्यक्ष प्रधानमन्त्रीको चुनाव गराउनुपर्नेछ। त कसैलाई वृद्धाश्रम जस्तै भएको राष्ट्रिय सभालाई खारेज गर्नु छ यस्ता यस्तै अनेकन अनेक एजेन्डा बोकेर यतिबेला नेपालका राजनीतिक पार्टीहरू अहिले देश दौडाहामा छन् ।
जनतालाई एकमुष्ट गर्दै आफ्ना भाषण सुनाउँदै ठुलै आश्वासन दिइरहेका छन्। कुनैबेला दिएको आश्वासनले ठूलो आशा जगाउँछ भनेझैँ अहिले नेपाल प्रजातन्त्र पार्टी राप्रपाले देशव्यापी रुपमा गरिरहेको विरोध सभाले पनि कतै देशमा राजा आउँछ कि भन्ने आशा जनताले गर्न थालेका छन्।
म देशमा राजा आउँदै आउँदैन भनेर भविष्यवाणी त गर्न सक्दैन। तर के तत्काल नै राप्रपका नेताहरुले भनेजस्तै राजा आइहाल्ने हो र यसमा भने शङ्का गर्नुपर्ने अवस्था देखिन्छ। अब नेपाली जनतालाई फेरि जनान्दोलन अर्थात् रक्तपात गराएर सत्ता परिवर्तन गरी आफ्नो स्वार्थ पूर्ति गर्ने मात्रै धेय हो भने यो पनि सपना मै सिमित हुनेछ। आजसम्म नेपालका प्रचलित शासन व्यवस्थाहरुले यहीँ देखाएको छ। हामीले सर्वप्रथम व्यवस्था, अवस्था परिवर्तन गर्नुभन्दा पनि नितान्त परिवर्तन गर्नुपर्ने आवश्यकता यहाँ सत्तामा पुग्ने व्यक्तिहरूको मनोदशा लाई देखिन्छ। आजको भुई मान्छे पनि कुनै दिन कार्यान्वयन गर्ने ठाउँमा पुगेपछि आफ्नो ठाउँ बिर्सिरहेका छन्। जसले गर्दा शासनसत्ता जस्तो सुकै आए पनि नेपालको थप प्रगति हुन सकेको छैन।
अझै पनि हामी पुरानै छौं हाम्रो शैली पुरानै छ। यो सजिलै थाहा पाउन सकिन्छ। कुनै आमसभा गर्नको लागि अझै पनि आफ्नो विचार सुन्ने र मान्ने समूहलाई टाढा टाढाबाट विभिन्न प्रलोभन देखाएर जम्मा गर्ने गरेको देखिन्छ। यही कारण हो नेतृत्वले आफ्नो विचार सबैलाई बाँड्न नसक्नुको । सभा त्यहाँ हुनुपर्छ , विचार त्यहाँ राख्नुपर्छ, जहाँ सुनेर ताली बजाउने मात्रै नहुन् , विचारको प्रतिक्रिया दिन सक्ने जमात पनि होस्।
हामी कहाँ यो प्रवृत्ति लागू हुन सकेको छैन। कुनै बिहे भोजमा खाना खानेले समान स्वादलाई अँगालेर बाध्यतामा राम्रो छ। भनेजस्तै हाम्रा नेपालका आमसभाहरूमा प्रलोभनमा परेर गएका जमातहरुले ताली बजाउँदै तथ्यता र सत्यता नबुझेरै स्वीकृति दिने गर्नु पनि एउटा ठूलो गल्ती हो। जसले गर्दा नेतृत्वलाई आफूहरुले गरिरहेको कदम सही भएको आभास हुन जान्छ र आत्मबल थप सशक्त हुन पुग्छ ।
राणा शासन सुरु गर्नुपूर्व जंगबहादुर राणाको विद्रोहलाई यदि कसैले समर्थन गरेका थिएनन् भने राणाशासन को उदय हुने अवस्था नै थिएन । प्रजातन्त्रको लागि नेपाली वीर सपुतहरुले आहुती दिएका थिएनन् भने त्यो पनि सम्भव थिएन। पछि पञ्चायत हटाउन पनि विभिन्न व्यक्तित्वहरुले एकजुट नभएको भए सम्भव थिएन । २०५२ सालमा जंगलबाट सुरु भएको माओवादी जन आन्दोलन लाई ठूलो जमातले समर्थन नगरेको भए न १० वर्षे जनआन्दोलनको इतिहास हामीसँग हुन्थ्यो , न आज गणतन्त्र आउँथ्यो, न राजालाई हटाएर फेरि आज राजा माग्न कसैले आमसभा गर्नुपर्थ्यो । यी सबै भूमिका मा हामी स्वयं एक एक जनता सहभागी भएका छौं।
म कुनै राजनीतिज्ञ वा इतिहासविद भने होइन मैले के मा सचेत गरिरहेको छु भने । कतै अझै पनि हामी कुनै यस्तै क्षणिक विचारलाई समर्थन गरिरहेका त छैनौ। आफ्नो बौद्धिकता प्रयोग नगरी अरु कसैको बौद्धिकतालाई सर्वे सर्वा त मानिरहेका छैनौं ; वा भनौ क्षणिक स्वार्थपूर्तिका लागि त लागेका होइनौं यी सामान्य जस्तै लाग्ने विषयमा अब गम्भीर हुनुपर्ने अवस्था देखिन्छ।
आशा देखाउनेहरूका पछाडि लागेर आफ्नो बौद्धिकता प्रयोग नगर्नु पनि ठूलो मूर्खता हो। अब त्यही मूर्खतालाई त्याग्न हामीले आफ्नो बौद्धिकताको प्रयोग गरी अरु कसैले विश्वास गर्न सक्ने बन्नु पर्नेछ। त्यसैले क्षणिक विचार र स्वार्थलाई समर्थन नगरी दीर्घकालीन रणनीति र समय सापेक्षतालाई आलम्बन गरौं एक दिन व्यवस्थासँगै अवस्था एकाएक परिवर्तन हुनेछ । मात्रै धैर्य गरौं …..!!!