लवदेव धामी
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पूर्वार्धको यो समयमा कथित विद्यार्थी नेता बेफुर्सदिला भएका छन्। असारको महिना एउटा किसान खेतमा जसरी धान रोप्न बेफुर्सदिलो बन्छ त्यसैगरी यो समयमा एक एक विद्यार्थी नेता लाई खाना खाने समयको समेत अभाव भएको जस्तो महसुस मैले गरेको छु।
हामीले के दिने र के लिने भन्ने कुरा एकातिर छ। के दिइरहेका छौं र यसको महत्व के छ भन्ने कुरा पनि एकातिर छ। वर्तमानमा के भइरहेको छ , कुन प्रवृत्ति , संस्कार हावी भइरहेको छ यसमा भने नजरअन्दाज गर्न नसकिने अवस्था छ। यी कथित विद्यार्थी नेता र पार्टीका झन्डादार नेतामा खासै केही फरक देखिने अवस्था छैन। पाँच वर्षमा एकचोटी फर्के जस्तै दुई वर्षमा एकचोटी फर्किदै विद्यार्थी नेताहरू चुनावको रणमैदानमा होमिएका छन्।
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई नेतृत्व विकाससँगसँगै व्यवस्थापन , नियमन र अनुशासन विकास गर्नको लागि बनाइएको एउटा विद्यार्थीहरूको साझा सौहार्द वातावरण निर्माण गर्ने थलो हो। विद्यार्थीको हकहितमा लड्ने र विद्यार्थीको लागि काम गर्ने साझा चौतारी स्वतन्त्र विद्यार्थी युनियन हो। तर विडम्बना अब स्वतन्त्र विद्यार्थी युनियन पार्टीका कार्यकर्ताको प्रशिक्षण केन्द्र बनेको छ। जहाँबाट अभ्यास गरेर नयाँ कार्यकर्ताहरू निर्माण हुने छन्। पछि गएर कुनै पार्टीको बागडोर सम्हाल्नेछन् । विद्यार्थी नेतृत्वको चुनाव लड्न कुनै प्रतिनिधि सभा संसद भन्दा कमको हैसियत भएको अर्थात् पहुँच नभएको विद्यार्थी सायद चुनाव लड्न नै सक्दैन कि जस्तो आभास यदाकदा हुन थालेको छ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जितेर कुनै ठूलै लाभ लिनै सकिन्छ भन्ने पनि केही छैन। जसले भएपनि विद्यार्थीको हकहितका लागि काम गर्ने हो र गर्नुपर्छ भन्ने मान्यता एकातिर छँदै छ। अर्कोतिर स्ववियु चुनाव लड्नको लागि विद्यार्थी नेतृत्व कहलिने पार्टीका कार्यकर्ताहरू टिकट माग्न कै लागि पावर लगाउन थालेका छन्। सँगै चुनाव लड्न चन्दा सङ्कलन पनि गर्छन् । यो हामी कस्तो प्रकारको संस्कार कुन मान्यता आलम्बन गरिरहेका छौं यसमा भने हामी सबैले हेक्का राख्नुपर्ने देखिन्छ।
आजको विद्यार्थी नेता भोलिको कुशल जनताको नेता बन्नु छ , भने निष्पक्ष र स्वच्छ तरिकाले चुनाव लडेर एक एक विद्यार्थीको मन जितेर जित्न सक्ने साहस राख्नुपर्दछ । ना कि ठूलो दलबलले टिकट लिएर विद्यार्थीलाई प्रलोभनमा पारी वा धम्क्याई फकाई गरेर चुनाव लड्ने। यहीँ गर्ने हो भने के नै फरक रहन्छ र जनताले भन्ने गरेको “जुन जोगी आए पनि कानै च्यातेको” यो भनाइ यता पनि मेल खान जान्छ। यसैले कान च्यातेको कान नच्यातेको जोगी बन्नु भन्दा पनि विद्यार्थीले रुचाएको विद्यार्थी नेतृत्व बन्न सक्नुपर्छ।
त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आगामी चैत्र ५ गते तोकेको छ । अहिले विद्यार्थी संगठनका नेताहरू टिकटको लागि दौडधुप गरिरहेको एकातिर देख्न सकिन्छ। यो गर्नुपर्छ यसमा कुनै विमति पनि छैन। तर टिकटकै लागि आफन्तवाद , कृपावाद, पुँजीवाद, जातिवाद, भूगोलवाद, यावत बाद लगाई विद्यार्थीलाई दोधारमा नपारौँ। संस्कार सहितको वैचारिक प्रतिस्पर्धा गर्ने हो। जुन पढाइकै पाटो बनोस्। जसले साँच्चिकै फाइदा पुगोस्। तर विडम्बना मिलेर बसेका विद्यार्थी साथीहरू अब धुर्वीकरण भएका छन्। हिजोसम्म मित्रको मित्र भन्दै हिँड्नेहरू आज एक्ला एक्लै हिँड्दैछन्। एउटै बेन्चमा बसेर पढ्नेहरू अब अगाडि पछाडि भएका छन् । यो कस्तो मित्रताको विकास हुँदैछ यसमा पनि गम्भीर हुनुपर्ने देखिन्छ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मर्म यो हुँदै होइन कि विद्यार्थीलाई धुर्वीकरण गर्नु। विद्यार्थीहरुले एकआपसमा दरार पार्नु। चुनाव लड्नकै लागि विश्वविद्यालयमा भर्ना हुनु। यो पनि होइन कि विश्वविद्यालयको नियम कानुन आफ्नो हातमा लिनु। विश्वविद्यालयभन्दा पनि माथि म छु भनेर म पाई गर्नु, अनुशासन तोड्नु, नियम विरुद्ध हुनु, यावत… । स्ववियु निर्वाचनको मर्म त पढाइ सँगसँगै विद्यार्थीको नेतृत्व सीपको खाँचो परिपूर्ति गर्ने साधन हो। व्यावहारिक शिक्षा प्रदान गर्नको लागि दिएको अधिकार पो हो। तर उक्त अधिकारको कतै विद्यार्थी नेताहरुले गलत प्रयोग त गरिरहेका छैनन् यसमा पनि अब एक एक विद्यार्थीले सचेत र सजग हुनुपर्ने अवस्था आएको छ।
अन्त्यमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव विद्यार्थीको शैक्षिक विकासको लागि हो। कुनै पार्टीका कार्यकर्ता उत्पादन गर्ने केन्द्र होइन। त्यसैले सम्पूर्ण विद्यार्थी नेतृत्वले निष्पक्ष, स्वच्छ, शान्त र सहज वातावरणमा नेतृत्व चयन गरौं। सबैलाई शुभकामना …!!!