कैलाली, २ फागुन / धनगढीमा प्रहरीले होटलमा छापा हान्दा २ युवती सहित ९ जुवाडे पक्राउ परेका छन्। बिहीबार राती साढे ११ बजे धनगढी उपमहानगरपालिका-४ मा डडेल्धुराको आलिताल गाउँपालिका -३ की २८ वर्षीय पूजा खड्काले सञ्चालन गरेको होटेल सोल्टीबाट जुवाडे पक्राउ परेका हुन्।
गोप्य सूचनाको आधारमा प्रहरीले होटेलमा छापा हान्दा होटेल सञ्चालिका पूजा खड्का, सहित डडेल्धुराकै आलिताल गाउँपालिका-७ का ४० वर्षीय गणेश थापा, अजयमेरु गाउँपालिका-३ का ३७ वर्षीय ईश्वर पाण्डे, बैतडीको सिगास गाउँपालिका-३ की २५ वर्षीय हिमा धामी, पुर्चौडी नगरपालिका-८ का ५५ वर्षीय कालु सिंह धामी, पाटन नगरपालिका-४ का ४१ वर्षीय सुरेन्द्र ऐर, कैलालीको गौरीगंगा नगरपालिका-९ का ४१ वर्षीय लक्ष्मण खड्का छन् ।
यस्तै बझाङको थलारा गाउँपालिका-३ का ३० वर्षीय मीन बहादुर भण्डारी र दुर्गाथली गाउँपालिका-८ का ४३ वर्षीय सुरज दौल्याल पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १ लाख ९७ हजार ६७२ रुपैयाँ र २ गड्डी तास बरामद गरेको छ ।