धनगढी,२८ पुस । सरकारले संसद छलेर एक पछि अर्को अध्यादेश ल्याउन थालेपछि सत्तारुढ दलकै नेताले असन्तुष्टि पोख्न थालेका छन । संसदमा बहुमत हुँदाहुँदै अध्यादेश मार्फत अघि बढ्नु गलत भएको नेताहरुको भनाई छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले सरकारले संसद् छलेर अध्यादेश ल्याउनु गलत रहेको टिप्पणी गरेका छन् ।सदनमा स्पष्ट बहुमत हुँदाहुँदै संसद् छलेर अध्यादेशमार्फत अघि बढ्न थाल्नुले सरकारप्रति प्रश्न उठेको उनकी भनाइ छ ।
बुटवलमा आइतबार बिहान आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता साउदले भने, ‘संसद्लाई लामो समयसम्म बन्धक बनाउँदै अध्यादेशमार्फत सरकारले विभिन्न ऐन बनाइरहेको छ, जुन संविधानसम्मत छैन । यसको विषयमा चौतर्फी विरोध भइरहेका छ । यसले सरकारप्रति राम्रो सन्देश गएन ।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले साथ दिइरहेको बताउँदै दुई दलबीच भएका न्यूनतम साझा सहमति कार्यान्वयन गर्नुपर्ने साउदको भनाइ छ ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए ।