धनगढी २३ पुस । धनगढी उपमहानगरपालिकामा हरित पूर्वाधार योजना एकीकरणको अवस्था, अवसर, र चुनौतीबारे छलफल गर्न विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ।USAID को जलजङ्गल परियोजना अन्तर्गत लक्ष्य ट्रेडिङ सेन्टरको आयोजनामा धनगढी उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा वन तथा वातावरणसँग सरोकार राख्ने विभिन्न पक्षहरू, उपमहानगरपालिकाका वडास्तरीय जनप्रतिनिधिहरू, पत्रकार, र वन कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा लक्ष्य ट्रेडिङ सेन्टरका दिनेश जोशीले हरित पूर्वाधार निर्माणका महत्त्व, वर्तमान अवस्था, र यससँग सम्बन्धित अवसर र चुनौतीहरूबारे जानकारी गराएका थिए। उनले हरित पूर्वाधार निर्माणका लागि समुदायको सक्रिय सहभागिता र दीर्घकालीन सोच आवश्यक रहेको बताए ।
धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले हरित पूर्वाधार निर्माणमा स्थानीय तहले खेल्नुपर्ने भूमिकाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए । उनले भने, “हरित पूर्वाधार भनेको केवल सौन्दर्यका लागि मात्र नभई दिगो विकास र जलवायु परिवर्तन अनुकूलनको पनि एउटा आधार हो। यसका लागि योजनाबद्ध ढंगले कार्य अघि बढाउन हामी स्थानीय तह प्रतिबद्ध छौँ।”
कार्यक्रममा सहभागीहरूले हरित पूर्वाधार निर्माणका लागि वित्तीय स्रोतहरूको अभाव, जनचेतनाको कमी, र नीति कार्यान्वयनमा आउने समस्याबारे छलफल गरेका थिए। यस्तै, समुदायमा सकारात्मक परिवर्तन ल्याउन हरित पूर्वाधार परियोजनाहरूको दीर्घकालीन लाभबारे जनतालाई जानकारी गराउन आवश्यकता रहेको पनि बताए।
कार्यक्रमले धनगढी उपमहानगरपालिकाभित्र हरित पूर्वाधार योजना कार्यान्वयनमा सहजीकरण गर्न ठोस कदमहरू अगाडि बढाउने प्रतिबद्धतासहित समापन गरिएकाे थियाे ।