यमुना साउद । धनगढी,१८ पुस । कैलालीको चुरे गाउँपालिका–१ स्थित दिगडा र पालडी क्षेत्रको केदार उपभोक्ता सामुदायिक वन अतिक्रमणमा परेको छ । स्थानीयहरूले सामुदायिक वनको जमिनमा घर टहरा निर्माण गरी बसोबास गर्दै आएका छन्। दिगडाको सिमखेडा र वडा नम्बर १ को कार्यालय वरपरका क्षेत्रहरू अतिक्रमणमा परेका छन् ।
बस्ती हटाउनका लागि बारम्बार छलफल गरे पनि अतिक्रमण रोक्न नसकेको केदार उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर साउदले बताए । उनले भने,“पहल गर्दा पनि हटाउन सकिरहेका छैनौँ।”
सब डिभिजन वन कार्यालय सहजपुरका प्रमुख श्याम सुन्दर माझीले यसबारे अनुसन्धान गरी र अतिक्रमित बस्ती हटाउने जानकारी दिए ।
यस्तै, डिभिजन वन कार्यालय कैलालीका सूचना अधिकारी समिर थापाले सब डिभिजन कार्यालयसँग समन्वय गरेर कानुनी प्रक्रिया अघि बढाउने बताए । उनले भने, “यदि अतिक्रमण गरिएको पुष्टि भए, आवश्यक कारबाही हुनेछ।”
