धनगढी, ७ पुस / धनगढीमा पुस ९ गते दलित सामाजिक मञ्च हुने भएको छ । दलित विकास सेवा केन्द्रको मूल आयोजनामा धनगढीको सौराइ ब्याङ्केटमा उक्त कार्यक्रम हुन लागेको आज पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिए।
राज्यको मूल प्रवाहीकरणबाट बाहिर रहेका यस क्षेत्रका दलित, हलिया ,वादी समुदाय अहिले पनि पछाडि परेका छन्। यिनै समुदायको हकहितका लागि र राज्यसँग आफ्नो अधिकार माग्नको लागि उक्त कार्यक्रम गरिन लागेको आयोजकले बताए। राज्यको विकासमा लाग्नुपर्ने समयमा आफ्नो अधिकार राज्यसँग माग्नु परेको दुखद अवस्थालाई निराकरण गर्न उक्त कार्यक्रमले सहयोग पुग्ने आयोजकको ठम्याई छ।
मानव अधिकारकर्मी ,निर्वाचित दलित जनप्रतिनिधि, दलित मानव अधिकारकर्मी ,त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका कानुन लगायत अन्य विधामा अध्ययनरत विद्यार्थी, राजनीतिक दलका नेता ,नीति निर्माता ,नागरिक समाज, सञ्चारकर्मी, आन्दोलनमा योगदान पुर्याउने स्वदेशी विदेशी व्यक्तिहरू लगायत गरी कार्यक्रममा ७०० जना भन्दा बढीको सहभागिता रहने छ।
कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्ने गरी तय गरिएको छ। साथै कार्यक्रममा दलित अधिकारको घोषणापत्र बनाई सरकारलाई साँझा रूपमा बुझाउने तयारी समेत गरिएको छ।
आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने र जोखिममा रहेका समूहलाई लक्षित गर्दै दलित समाजिक मञ्चले हरेक वर्ष उक्त कार्यक्रमलाई विशेष प्राथमिकताका साथ देशभरि नै आयोजना गर्ने योजना रहेको पत्रकार सम्मेलन मार्फत जानकारी दिए।