कञ्चनपुर ३ पुस – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पुनर्वास नगर समितिको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो नगर अधिवेशनबाट नरेन्द्र प्रसाद गौतम अध्यक्षमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न अधिवेशनले गौतमको नेतृत्वमा ७ सदस्यीय नगर समिति गठन गरेको हो।
नवगठित समितिमा उपाध्यक्षमा किशोर कुमार तामाङ, सचिवमा नरेन्द्र प्रेमी, कोषाध्यक्षमा हेम बहादुर थापा, र सदस्यहरूमा सुरेश अधिकारी, सुरज कुमार नकर्मी, र भजनु राना चयन भएका छन्।
कार्यक्रमको अध्यक्षता प्याब्सन पुनर्वासका निवर्तमान अध्यक्ष बालकृष्ण ढकालले गरेका थिए भने प्रमुख अतिथि प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट थिए। विशेष अतिथिमा प्याब्सन सुदूरपश्चिम प्रदेश सदस्य राजेन्द्र अधिकारी, प्याब्सन कञ्चनपुरका सल्लाहकार विश्वनाथ विष्ट, जिल्ला सचिव राकेश बहादुर चन्द, र सह कोषाध्यक्ष अक्कल रोकाया रहेका थिए।
नगर अधिवेशनको उद्घाटन समारोहपछि बन्द सत्रमार्फत निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो। नवनिर्वाचित अध्यक्ष गौतम निर्विरोध चयन भएका हुन्।
कार्यक्रममा स्वागत मन्तव्य करन खडकाले दिएका थिए भने सञ्चालन नगर सचिव पुष्पराज ओझाले गरेका थिए।