कैलाली, ३ पुस । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र रेष्टलेस डेभलपमेन्टको सहकार्यमा सुदूरपश्चिम प्रदेशमा पहिरो रोकथाम र विपद् व्यवस्थापनका लागि नीति संवाद कार्यक्रम सम्पन्न भएको छ। पौष २ गते आन्तरिक मामिला तथा कानून मन्त्रालयको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारकर्मी र अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता कानून मन्त्रालयका उपसचिव कृष्ण प्रसाद नेपालले गरेका थिए। कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, धनगढी उपमहानगरपालिका, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाली सेना र सशस्त्र प्रहरीहरूको उपस्थिति रहेको थियो।
रेष्टलेस डेभलपमेन्टका तर्फबाट करुणा थापाले पहिरो प्रभावित क्षेत्रहरूको अध्ययन तथा अनुसन्धानबाट प्राप्त तथ्यांक प्रस्तुत गरेकी थिइन्। उनले सुदूरपश्चिमका डोटी, डडेल्धुरा, अछाम, बझाङलगायतका जिल्लाहरूमा यो वर्ष अत्यधिक पहिरो गएको र डोटी जिल्लामा विशेष जोखिम रहेको जानकारी दिइन्।
ट्यागमि एप्समार्फत पहिरो गइरहेका स्थानहरू, विगतमा पहिरो गएको स्थानहरू र भविष्यमा पहिरो जान सक्ने क्षेत्रहरूको पहिचान गरिएको र तथ्यांकको आधारमा नीति निर्माण र बजेट योजना बनाउन सकिने कुरा प्रस्तुत गरेकी थिइन् ।
धनगढी उपमहानगरपालिकाका विपद् फोकल पर्सन दीपक भण्डारीले ट्यागमि एप्सले तथ्यांक विश्लेषणमा सहयोग पुर्याउने भन्दै नदी कटानको समस्यालाई समाधान गर्न यस एप्समार्फत सहकार्य गर्न इच्छुक रहेको बताए। युथ इनोभेसन ल्याबका सविन डोटेलले एप्समा राखिएका तथ्यांक विश्वसनीय रहेको र तस्बिरहरू प्रत्यक्ष अपलोड गर्नुपर्ने भएकाले प्रमाणको रूपमा उपयोग गर्न सकिने बताए।
कार्यक्रममा स्थानीय तहदेखि जिल्ला स्तरसम्म तथ्यांक सार्वजनिक गर्नुपर्ने, समुदायका स्वयंसेवकहरूको सहयोगमा तथ्यांक संकलन गर्नुपर्ने, र विपद् जोखिम न्यूनिकरणका लागि सहकार्य आवश्यक रहेको सुझाव दिइएको थियो।
कार्यक्रमले सुदूरपश्चिम प्रदेशमा पहिरो रोकथाम र जोखिम व्यवस्थापनका लागि नीति निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै प्रविधिको प्रभावकारी उपयोगको महत्वलाई उजागर गरेको छ।
