धनगढी, २९ मङ्सिर / श्री समृद्ध युवा क्लबको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं ६ वनबेवहडामा युवा क्लबको आयोजनामा र मायामेट्रो हस्पिटल धनगढी कैलालीको समन्वयमा एक दिने निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको आयोजकले जनाएको छ।
शिविरमा ३ सय ५२ जनाको नाक, कान घाँटीको उपचार गरि औषधी बितरण गरिएको थियो । गौरीगंगा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष टेक बहादुर कुँवरले एक दिने निशुल्क स्वास्थ शिविरको उद्घाटन गर्दै स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो धन हो। स्वास्थ्य भए मात्रै शिक्षा ,रोजगार हुने भएकाले श्री समृद्ध युवा क्लबले गरेको उक्त यो कार्य समाजको लागि प्रेरणादायी र सराहनीय रहेको बताए।
श्री समृद्धि युवा क्लबका अध्यक्ष बिप्लब सिंह खड्काले स्वास्थ्य शिविर यस वडामा अति आवश्यक भएकाले पहिलो प्राथमिकतामा परेको र आगामी दिनमा यस्ता सेवाहरू गर्दै जाने बताए । युवा क्लबले गरेको शिविरलाई मायामेट्रो हस्पिटलले गरेको सहयोग अतुलनीय रहेको र आगामी दिनमा पनि साथ सहयोग को अपेक्षा गरेको क्लबका अध्यक्ष खड्काले बताए ।
समृद्धि युवा क्लबका अध्यक्ष बिप्लब सिंह खड्काको अध्यक्षतामा सुरु भएको उक्त शिविरमा प्रमुख अतिथि गौरीगंगा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष टेक बहादुर कुँवर , बिशिस्ट अतिथि मायामेट्रो हस्पिटलका इन्चार्ज डा. गिता ठगुन्ना, नाक,कान,घाटीका बिशेषज्ञ डाक्टर रहनुभएको थियो।
निःशुल्क शिविरबाट सेवा लिँदै सेवाग्राहीहरूले यस्तो सेवा अझै पाउने आशा गरेका र आयोजकलाई खुसी हुँदै धन्यवाद समेत दिएको कार्यक्रम सञ्चालक समेत रहेका हरिस भट्टले जानकारी दिए।