धनगढी , २९ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजार नजिकै आज दिउँसै चितुवा देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। चितुवा श्रीकृष्ण सामुदायिक वनको पूर्व पश्चिम राजमार्ग छेउको घाटगद्दी क्षेत्रमा देखापरेको हो। चितुवा देखेपछि स्थानीयले होहल्ला गर्दै वनतर्फ भगाएको सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरले जानकारी दिए।
चितुवाको उपस्थिति अमरपुर र कलुवापुर बजार क्षेत्रसँग जोडिएको स्थानमा भएकाले स्थानीय त्रसित बनेका छन्। ऐरका अनुसार एक साताअघि सोही क्षेत्रमा पाटेबाघ पनि देखिएको थियो। सामुदायिक वन संरक्षणका कारण वन क्षेत्रमा जनावरहरूको सङ्ख्या बढ्दै गएको उनले बताए। नीलगाई, चितल, बँदेललगायतका जनावरहरू देखिने क्रम बढ्दै गएपछि चितुवा र बाघ जस्ता हिंस्रक जनावरहरू पनि देखा पर्न थालेका छन्, जसका कारण स्थानीयले वन क्षेत्रमा जान छाडेका छन्।
चितुवा देखिएपछि सामुदायिक वनको सभाहलमा सञ्चालन हुँदै आएको योगाभ्यास कार्यक्रम सुरक्षाका कारण बन्द गर्नु परेको स्थानीयले बताएका छन्। दिउँसै चितुवा देखिन थालेपछि साँझमा हिँड्डुल गर्नसमेत डराउनुपर्ने अवस्था आएको स्थानीय टेकबहादुर भण्डारीले जानकारी गराए।