धनगढी , २९ मङ्सिर / सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा श्रीमद्भागवत महायज्ञ लगाउने गरी धनगढीमा छलफल गरिएको छ। आज सुदूरपश्चिमाञ्चल साहित्य समाज पलमान सिंह स्वार स्मृति भवनको प्राङ्गणमा बृहत छलफल कार्यक्रम गरिएको हो।
यही फागुन २१ देखि २७ गतेसम्म धनगढीमा भागवत मञ्जरी पूज्य राधिका दाहीज्यूद्वारा वाचन हुने गरी श्रीमद्भागवत महायज्ञको तयारी सुदूरपश्चिमाञ्चल साहित्य समाजले गरिरहेको छ। उक्त श्रीमद्भागवतको तयारीका लागि सुदूरपश्चिम प्रदेशका दिग्गज, सामाजिक ,शैक्षिक, राजनीतिक र प्रतिष्ठित व्यक्तित्वहरूको भेला गरेर सबैको विचारलाई बुझेर एकिबद्धताका साथ महायज्ञ गर्न साहित्य समाज लागि परेको छ।
सुदूरपश्चिमको कला, संस्कृति, साहित्य र गीत संगीतको संरक्षणका साथै कलाकार, साहित्यकार ,संगीतकर्मीको संरक्षणकालागि पनि यो महायज्ञले सहयोग गर्ने आयोजकको ठम्याई छ। उक्त महायज्ञ सम्पन्न गर्नको लागि सबै जनसमुदायको महत्त्वपूर्ण भूमिका रहनुका साथै सहयोगको पनि आवश्यकता रहेको र सबैले महायज्ञलाई सम्पन्न गर्न आफ्नो क्षेत्रबाट सक्ने सहयोगको लागि पनि साहित्य समाजले अपिल गरेको साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेले बताए।