धनगढी,२७ मंसिर । कैलालीको गौरीगंगा नगरपालिका-२ स्थित मालिका माध्यमिक विद्यालय चौमालामा अध्ययनरत १५ जना बालबालिकालाई युवा समाजसेवी हेमन्त राज जोशी (बाजे) को पहलमा सिबिन नेपालद्वारा शैक्षिक सामाग्री वितरण गरिएको छ।
आर्थिक अवस्था कमजोर भएका, विद्यालय जान नसक्ने, एकल घरपरिवारका, जेहेन्दार, र अनाथ बालबालिकाहरूलाई विद्यालय पोशाक, झोला, र स्टेसनरी सामाग्री प्रदान गरिएको हो। उक्त कार्यक्रम मालिका माध्यमिक विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सम्पन्न गरिएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज दियाकोटी, अमर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष दानबहादुर कुँवर, समाजसेवी तथा पहलकर्ता हेमन्त राज जोशी (बाजे), मनोबिमर्शकर्ता भगवती राई, विद्यालयका प्र.अ. रतन प्रसाद जैसी, शिक्षक-शिक्षिका, र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
सिबिन नेपालका कार्यालय प्रमुख हरिलाल चौधरीले न्यून आय भएका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। युवा समाजसेवी हेमन्त राज जोशीले बालबालिकाहरू सामग्री प्राप्त गर्दा थप उत्साहित भई आफ्नो पढाइमा निरन्तर लाग्न प्रेरित हुने जानकारी दिनुभयो।
कार्यक्रमको सञ्चालन शिक्षक तिलक साउँदले गर्नुभएको थियो भने स्वागत तथा धन्यवाद ज्ञापन विद्यालयका प्र.अ.रतन प्रसाद जैसीले गर्नुभएको थियो। यो कार्यक्रमले आर्थिक अभावमा थला परेका बालबालिकाहरूलाई शिक्षाको अवसर दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।