धनगढी, २४ मंसिर। सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात भएको छ । आइतबार रातिबाट सुदूर पहाडका विभिन्न स्थानमा हिमपात भइरहेको हो ।
बझाङमा पानी परिरहेको छ भने हिमपात पनि भएको छ । बझाङ प्रहरीका अनुसार साइपाल, सुर्मा र मष्टा गाउँपालिकामा हिमपात भएको हो । त्यसैगरी बैतडीमा हल्का वर्षा मात्र भएको बताइएको छ ।
दार्चुलाको खण्डेश्वरी, अपि वेश क्याम्प, तिंकरमा हिमपात भएको दार्चुला प्रहरीले बताएको छ । त्यसैगरी अछामको चौखुट्टे, ठुलासैन, ढुङ्गाचाल्ना, कमलबजार, रामारोशन चौतारा क्षेत्रमा वर्षासँगै हिमपात भएको छ ।
डडेल्धुरामा बिहान हल्का वर्षा भएको, हगुल्टेको लेकमा हिमपात पनि भएको र अहिले हुस्सु लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डोटीको बडीकेदार गाउँपालिका र खप्तड क्षेत्रमा हिमपात भएको छ ।
बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, गौमुलको दहकोट, मानाकोट, बुढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयवागेश्वरी, बडीमालिकाको रजाली, मार्तडी, ढम्कने, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा वर्षासँगै हिमपात भएको छ ।