धनगढी, २२ मंसिर। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल अचानक अस्वस्थ भई उपचारका लागि भारतको दिल्लीस्थित म्याक्स अस्पताल लगिएको छ। हिजो राति स्वास्थ्यमा समस्या आएपछि उनलाई धनगढीको मायामेट्रो अस्पतालमा लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत दिल्ली लगिएको हो।
चिकित्सकका अनुसार हमाललाई ब्रेन अट्याक भएको पुष्टि भएको छ। यसअघि पनि उनले भारतका विभिन्न सहरहरूमा स्वास्थ्य उपचार गराउँदै आएका थिए। उनका मस्तिष्कको नसामा समस्या रहेको बताइएको छ।
शनिबार मात्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले हमाललाई भेटी स्वास्थ लाभको कामना गरेका थिए। उक्त भेटमा प्रदेशसभा सदस्य धर्मराज पाठक र एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना समेत सहभागी भएका थिए।