धनगढी,२५ कार्तिक । कैलालीमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । शनिबार प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका(३ भन्सार कार्यालय नजिकबाट धनगढी(१३ बस्ने १९ वर्षका निरज राना पक्राउ परेका हुन् ।
रानाले चलाएको से७प ६३५९ नम्बरको मोटरसाइकलको अगाडिको हेडलाटको भागमा लुकाई छिपाई राखेको अवस्थामा ५ ग्राम ८४० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले बताएको छ । उनको मोटरसाइकल पछाडि सवार धनगढी(१३ राजपुर बस्ने २१ वर्ष सुनिल रानालाई समेत नियन्त्रणमा लिइएको छ ।
धनगढी(२ रामजानकी मन्दिर नजिकबाट सोही ठाउँ बस्ने २३ वर्षका रोशन खड्का, धनगढी(३ बस्ने २१ वर्षका अमित शर्मा र १६ वर्षीय किशोरलाई १५० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ, १ ग्राम ५६० मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थ र उनीहरुले प्रयोग गरेको से५प ४१२६ नम्बरको मोटरसाइकल समेत जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ ।
