धनगढी, ९ कार्तिक/सशस्त्र प्रहरीको सीमा सुरक्षा बल फूलबारी बेस क्याम्पको पुरै युनिट परिवर्तन गरेको छ । त्यहाँको कार्यरत टोलीले राम्रो प्रगति दिन नसेकेपछि पुरै सेटलाई तानेर गणमा राखेको छ । सुरक्षा बल ३४ नम्बर गणले आफ्नो मातहतमा रहेको फूलबारी बेस क्याम्पको सेट परिवर्तन गरेको गणपति दलबहादुर पाण्डेयले जानकारी दिएका छन् । सशस्त्र प्रहरी निरीक्षक अच्युत कुँवरको कमान्डमा त्यहाँको सीमा सुरक्षा दिई रहेको थियो ।
अहिले चाडबाडको समयमा सिमाना सुरक्षा सम्बेदनशिलतालाई हेर्दै फूलबारीको सेट परिवर्तन गरेको बताइएको छ । ‘कामको राम्रो आउट पुट नआएपछि विभागकै नीति अनुसार सेट परिवर्तन गरेको हु’ गणपति दलबहादुर पाण्डेयले भने–‘सो क्षेत्रमा अहिले नयाँ टोली जिम्मेवारी लिएर काम सुरु गरिसेको छ ।’
बिओपी फूलबारीमा कार्यरत सशस्त्र प्रहरीहरूले तस्करी नियन्त्रणमा सक्रिय भूमिका खेल्न नसकेको पटक–पटक विवादमा आउने, सर्वसाधारणलाई अनावश्यक दुख दिन थालेको आरोप लाग्न थालेपछि एकाएक गणमा तानिएको बताइएको छ । तस्करहरूसँग मिल्ने र घरायसी समान ल्याउने स्थानीयलाई अनावश्यक दुख दिने गरेको समेत स्थानीयले आरोप लगाउँदै आएका थिए ।
यसरी पटक–पटक आरोप खेप्न थालेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले बिओपी फूलबारीमा कार्यरत सबै युनिटलाई गणमा तानिएको स्वीकार गरे । इन्सपेक्टर अच्चुत कुँवरलाई चेतावनी सहित अन्य सबै युनिटलाई गणमा तानिएको एसपी पाण्डेले बताए । उक्त बिओपीमा गणबाट नयाँ टोली खटाएका समेत एसपी पाण्डेले बताए । कार्य सम्पादन गर्न नसक्ने अन्य बिओपीको टोलीलाई समेत गणमा तान्ने काम भइरहेको उनको भनाई छ ।