धनगढी,२२ असोज । बैतडीको पाटन नगरपालिका–६ मा रहेको प्रसिद्ध उदयदेव मन्दिरमा यही असोज २४ र २५ गते जात्रा लाग्ने भएको छ । मन्दिरमा महाष्टमी र महानवमीका दिन जात्रा लाग्ने गरेको छ । जसलाई स्थानीय भाषामा मैतडको जात्रा पनि भन्ने गरिन्छ ।
राँगाको बलिसहित हुने जात्रामा महाष्टमीको दिन मन्दिरमा राँगा ल्याउने र महानवमीको दिन राँगाको बलि दिने चलन छ । जात्रालाई व्यवस्थित गर्नका लागि सोमबार बसेको सर्वपक्षीय बैठकले उदयदेव मन्दिर आसपासका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको वडाअध्यक्ष राजेन्द्रसिंह विष्टले बताए ।
मन्दिर परिसरको चार किल्ला अन्तरगत पञ्चेश्वर सडकखण्ड, विमानस्थल क्षेत्र, डोबरा–सिलङ्गा सडक, तल्लो बजार सामुदायिक भवन लगायतका क्षेत्रभित्र असोज २४ र २५ गते मदिरा सेवन र कारोबारमा पूर्ण रुपमा रोक लगाइएको उनले बताए । कसैले निर्णयको उल्लघंन गरेमा कानुन अनुसार कारबाही हुने बताइएको छ ।