धनगढी,२० असोज । कैलालीमा कुखुरामा गम्बोरो रोग देखिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा मरेका छन् ।
किसान पहल देउवाले पालेका पाँच हजार बढी लेयर्स कुखुरा मरेका हुन् । उनले पहिलोपटक गम्बोरो रोगबाट यति धेरै कुखुरा मरेका बताए । कुखुरा बिरामी भएपछि ल्याब परीक्षण गर्दा गम्बोरो रोग लागेको पहिचान भएको र भ्याक्सिन, औषधि दिँदादिँदै पनि खोर नै रित्तिने गरी कुखुरा मरेपछि ३० लाख बढीको क्षति भएको उनले बताए ।
घोडाघोडी नगरपालिकाका पशु शाखा प्राविधिक मनोज आचार्यले पनि गम्बोरो रोगका कारण पहिलोपटक पालिका क्षेत्रमा यति धेरै क्षति भएको बताए । उनले पाँच हजार ७०० कुखुराका चल्ला ल्याएकामा अब छ–सात सय मात्र बचेका र ती पनि मरिरहेका बताए । चाडपर्व नजिकिँदै जाँदा भएको क्षतिले देउवा परिवारलाई निकै क्षति भएको छ ।