बाजुरा, असोज १८ – बाजुराको गौमुल गाउँपालिका–३ बेहरीको सिममाटामा चट्याङ लागेर ३३ वटा भेडाबाख्रा मरेका छन्। असोज १८ गते साँझ ५स्३० बजेतिर परेको चट्याङका कारण तीन जना गोठाला सामान्य घाइते भएका छन्।
स्थानीय भान बहादुर धामीका अनुसार, चक्र बहादुर धामीका २० वटा भेडाबाख्रा र १ कुकुर, तथा गोरख बहादुर रोकायाका १३ वटा भेडाबाख्रा चट्याङका कारण मरेका हुन्। घाइते हुनेमा १२ वर्षीया मनिष रोकाया, १६ वर्षीया रेशम धामी, र ११ वर्षीया विक्रम धामी रहेका छन्।
यस क्षेत्रमा व्यवस्थित भेडीगोठको अभावका कारण हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति हुँदै आएको छ। पीडित चक्र बहादुर धामीले भेडाबाख्रा मरेपछि आफ्नो परिवारको आर्थिक स्थिति बिग्रिएको बताए। ‘यसै पेशाबाट आम्दानी गर्दै आएको थिएँ। बालबच्चाको पढाइ र घर खर्च धान्न सकिरहेको थिएँ, तर अहिले ठूलो समस्या भएको छ ।’उनले दुःख व्यक्त गरे।
पीडितले स्थानीय सरकार र सम्बन्धित निकायलाई राहत र क्षतिपूर्तिको लागि पहल गरिदिन आग्रह गरेका छन्। गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्।