धनगढी, १३ असोज/सामाजिक विकास केन्द्र (सिडीसी) डोटीले कैलालीका १५० जना स्थानीय उद्यमीलाई विभिन्न सीप र व्यावसायिक तालिम प्रदान गरेको छ। तालिम कार्यक्रम चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका केही वडामा साना व्यवसायहरूलाई प्रोत्साहित गर्दै दिगो उद्यमशीलता र रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो। उक्त कार्यक्रमको परियोजना सकिएको छ । परियोजना अन्तरगत उद्यमीलाई शबल बनाई उनीहरूलाई रोजगारमा प्रोत्साहन गर्ने उद्देश्यले व्यबसायीक सामग्री पनि प्रदान गरेको छ ।
उक्त तालिम बाख्रा पालन, मौरी पालन, अचार उत्पादन, झोला उत्पादन, कुखुरा पालन र तरकारी खेतीजस्ता विविध पेशामा आबद्ध स्थानीयलाई व्यावसायिक सीप र ज्ञान प्रदान गरेको हो। सिडीसीको यो परियोजना चैतदेखि सुरु भई आइतबार सम्पन्न भएको छ। परियोजनाको समापनमा तालिममा सहभागी, जनप्रतिनिधि, र साझेदारी संस्थाबिच सामाजिक परीक्षण कार्यक्रमको आइतबार आयोजना गरिएको परियोजनाका कार्यक्रम संयोजक महेश थलालले जानकारी दिए । यो कार्यक्रम सामाजिक विकास केन्द्र र लुथरन वर्ल्ड रिलिफको सहकार्यमा सम्पन्न भएको थियो।
उद्यमीलाई विभिन्न सीप र व्यावसायिक तालिम लिएकालाई पालिकाले अपनत्व ग्रहण गर्दै यसलाई संस्थागत विकास गर्ने चुरे गाउँपालिका प्रशासकीय अधिकृत तेजबहादुर बोगटीले प्रतिबद्धता व्यक्त गरेका छन् । चुरे गाउँपालिका-५ का किसान जयबहादुर धामीले तालिमले आफूलाई बाख्रा पालनको परम्परागत तरिकालाई सुधार्न धेरै ज्ञान दिएको बताए। उनी लगायत अन्य सहभागीहरूले स्थानीय सरकारबाट थप सहयोगको अपेक्षा राखेका छन्। त्यस्तै, चुरे-५ का अर्का सहभागी नन्द राम सापकोटाले किसानहरूको लागि यस्ता तालिम र आवश्यक उपकरणहरूको व्यवस्था गर्न बजेट छुट्टाउन सुझाव दिएका थिए ।
चुरे क्षेत्रमा सडक सुविधाको अभाव र उचित मूल्य प्राप्त नहुने समस्याका कारण तरकारीहरू खेर जाने अवस्था देखिएको सहभागी किसानहरूले बताएका थिए । स्थानीय किसानहरूले कोल्ड स्टोरको व्यवस्था भएमा तरकारीहरू खेर नजाने र उचित मूल्य पाउने बताएका छन्। गोदावरी १० की चन्दावती जोशीले थोरै लगानीबाट सुरु गरेको झोला उत्पादन व्यवसायले अहिले उनलाई बचत गर्न सक्षम बनाएको बताइन्। तालिमले व्यवसायमा थप उत्साह र सीप प्रदान गरेको उनले बताईन् ।
गोदावरी नगरपालिका-७ की वडा अध्यक्ष कलावती साउदले अनुदानका लागि मात्र व्यवसाय दर्ता नगर्न आग्रह गर्दै सच्चा उद्यमशीलता विकास गर्नुपर्ने आवश्यक भएको बताईन् । चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटीले जलवायु परिवर्तनले कृषि क्षेत्र प्रभावित भएको भन्दै अर्ग्यानिक खेतीमा जोड दिन आग्रह गरे। सिडीसीमा कार्यरत टेकबहादुर साउदले सहभागीहरूलाई कृषि यन्त्र र उपकरणहरू प्रदान गरिने जानकारी दिए।
सिडीसीका कार्यक्रम व्यवस्थापक हर्कबहादुर ऐरले वातावरण अनुकूल व्यवसाय छनोट गर्दा किसानहरूलाई सजिलो हुने र भविष्यमा यस्ता परियोजनाहरूलाई निरन्तरता दिने बताउँदै थप उद्यमी उत्पादनमा सहयोग गरिने बताए । दुवै पालिकामा युवा उद्यमी स्थानीय स्तरमै केही आय आर्जन गर्नका लागि जुरमुराएको पाइयो बताउँदै सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक हेमराज जोशीले तालिममा सहभागी व्यबसायीक योजनालाई मूर्तरूप दिन स्थानीय सरकार र प्रदेश सरकार सङ्ग समन्वय गरी सहयोग गर्न अनुरोध गर्ने जानकारी समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।