धनगढी,२ असोज । बैतडीमा डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । जिल्लाको पाटन नगरपालिका –५ वसन्तपुर कद्वारका ९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । एकै गाउँका ४ जनामा आइतबार डेंगु संक्रमण पुष्टि भएपछि पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट सोमबार स्वास्थ्यकर्मीहरुको टोली गाउँमै पुगेको थियो ।
सोमबार ज्वरोका बिरामीहरुको परीक्षण गर्दा थप पाँच जनामा डेंगु संक्रमण पुष्टि भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए । एकै गाउँको नौ जनामा डेंगु संक्रमण पुष्टि हुनु निकै चुनौतीपूर्ण अवस्था रहेको भट्टले बताए ।
बैतडीमा गएको वैशाखदेखि भदौसम्म ७० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सूचना अधिकारी विपिन लेखकले बताए । डेंगु प्रभावित क्षेत्रमा डेंगु रोगका बारेमा सचेतना फैलाउनुका साथै सरसफाइ गरिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए ।
जिल्लाभरी डेंगु संक्रमण रोकथामका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान समेत सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लेखकले जानकारी दिए ।