धनगढी,२७ भदौ । डोटीको बडीकेदार गाउँपालिका १ बी.पी.नगरमा रहेको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको नाम परिवर्तन गरिएको छ । नयाँ नाम ‘केदार सूर्य बहुमुखी क्याम्पस’ राखिएको छ । त्रिभुवन विश्वविद्यालयको योजना निर्देशनालयले यो निर्णय कार्यकारी परिषदकोे बैठकबाट पारित भएको हो ।
नयाँ नामका साथ क्याम्पसले शैक्षिक तथा प्रशासनिक प्रक्रियामा पनि सुधार ल्याउने अपेक्षा गरिएको उक्त क्याम्पसका उप–प्राध्यापक टेकेन्द्र बमले बताए । २०८० मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस, डोटी र शिव सूर्य बहुमुखी क्याम्पस, कैलालीलाई गाभेर एकीकृत “केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस“ को रूपमा सञ्चालन गरिएको थियो । त्रिवि योजना निर्देशनालयको निर्देशन अनुसार यी दुई क्याम्पसहरूलाई गाभेर एउटै शैक्षिक संस्था बनाइएको थियो ।
दुवै क्याम्पसमा भएका स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गर्दै विद्यार्थीहरूको लागि शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो निर्णय गरिएको थियो । अहिले उक्त क्याम्पसको नाम परिवर्तन गरिएको हो । क्याम्पसमा अहिले बि.बि.एस र ४ बर्षे बी.एड शैक्षिक कार्यक्रमहरू सञ्चालित भइरहेका छन् । साथै यस क्याम्पसको १३ औं वार्षिक साधारण सभा यही आश्विन ५ गते आयोजना गरिने भएको छ ।
