धनगढी,१ जेठ । बैतडीमा अज्ञात रोगले बाख्राहरु मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । बैतडीको दशरथचन्द नगरपालिका १ जरकट्टेमा किसानहरुका बाख्राहरु अज्ञात रोगले धमाधम मर्न थालेका स्थानीय लोकेन्द्र टेरले जानकारी दिए ।
फागुनदेखि बाख्रा मर्नथालेको र १५ दिनदेखि भयावह रुपमा रोग फैलिएको टेरले बताए । अज्ञात रोगबाट आफूले पालेका ९ ओटा बाख्रा मरेका उनले बताए । बाख्राहरुमा झोक्राउने, पाखला लाग्ने, घ्यारघ्यार गर्ने लक्षणहरु देखापर्ने र त्यसपछि बाख्राहरु मर्ने गरेको टेरले बताए ।
स्थानीय पशु सेवा प्राविधिकलाई बोलाएर उपचार गराएपनि रोगको बारेमा केही पत्ता नलागेको किसानहरुले बताएका छन् । जरकट्ट टोलमा गएको १५ दिनमामात्रै झण्डै ४० बाख्रा मरीसकेका किसानहरुले बताएका छन् ।
बाख्राहरुमा देखिएको रोगका बारेमा नगरपालिका र भेटरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा खबर गरेको भएपनि कसैले चासो नदिएको किसानहरुले गुनासो गरेका छन् । पालेका बाख्राहरु धमाधम मर्न थालेपछि किसानहरुलाई समस्या भएको छ । बाख्रा मरेपछि स्थानीय किसानहरुलाई हजारौंको घाटा लागेको छ ।
