काठमाण्डौ १ जेठ/बलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेको थियो ।
विपक्षी झिकाउन आदेश भएकै इजलासमा पेसी परेपछि हेर्न नमिल्नेमा परेको उच्च अदालत पाटनले जनाएको थियो । पेसी तोकिएर पनि पटक पटक सर्दै आएकाले उनी विश्वकप टिम स्क्वाडमा अटाउन नसक्दा क्रिकेट समर्थकहरु अदालतकै विरुद्धमा प्रदर्शन हुन थालेको छ ।
काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ सुरु भइसकेको छ ।
उच्च अदालतले यसअघि पीडित गौशाला २६ को जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । त्यसपछि पेसी तोकिए पनि सुनुवाई हुन नसकेको हो । सन्दीप लामिछानेको मुद्दाको पेसी कसको इजलासमा पर्छ भन्ने कुरा भने विहान १० बजेपछि मात्रै थाहा हुने छ ।