धनगढी,३१ वैशाख । कैलालीको चुरे गाउँपालिकामा एचआइभी सङ्क्रमितलाई भत्ता वितरण गरिएको छ । गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता वितरण गरेको हो ।
सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन भत्ता वितरण गरिएको बताइएको छ । पालिकाभित्र १५ पुरुष र १२ महिला गरी २७ जना एचआइभी सङ्क्रमित रहेका पाइएको छ । सामाजिक रूपमा बाहिर नखुलेका उनीहरुलाई बैंक खातामा ६ महिनाको भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए ।
बाँकी ६ महिनाको भत्ता पनि एकमुष्ट बैंकमा जम्मा गरिने उनले बताए । उनका अनुसार पहिचान भएका सङ्क्रमितका बालबालिकालाई पालिकाभित्रका विद्यालयमा निःशुल्क पढ्न पाउने व्यवस्था मिलाइएको छ ।