डडेलधुरा, ३० चैत/नयाँ वर्ष तथा बिसुपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै सवारीसाधनले क्षमताभन्दा दोब्बर यात्रु ओसार्न थालेका छन् । क्षमताभन्दा बढी यात्रु ओसार्दा दुर्घटनाको जोखिम पनि बढेको छ । तराईबाट पहाड प्रवेशको मुख्य नाका कैलालीको अत्तरियाबाट आउने अधिकांश सवारीसाधनमा यात्रुको चाप दोब्बर देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले नयाँ वर्ष तथा बिसुपर्व सुरु भएसँगै सार्वजनिक यातायातका साधनमा यात्रुको चाप अध्यधिक बढेकाले निगरानी बढाइएको जानकारी दिए ।त्यस्तै डडेलधुराको ग्रामीण भेगमा सञ्चालन हुने हल्का सवारीसाधनमा पनि क्षमताभन्दा दोब्बर यात्रु ओसारेको पाइएको छ । यसरी जोखिम मोलेर यात्रु ओसार्ने एक दर्जन सवारीसाधनको कागजात नियन्त्रणमा लिइएको उनले बताए ।
ग्रामीण सडकमा पाँच सिट क्षमता भएका बोलेरो जिपले १०र१५ जना चढाउने गरेको पाइएको छ । उनले भने, “उग्रतारा डडेलधुरा सार्वजनिक यातायात प्रालि र जिल्ला प्रशासन कार्यालयबिच पाँच सिट पास भएका गाडीमा १२ जना बोक्ने व्यावहारिक सम्झौता भएको रहेछ ।” सोही सम्झौता अनुसार सवारीसाधनले यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ वर्ष तथा बिसुपर्वसँगै एउटा बोलेरोले २५ जना बोकेको जिल्ला प्रहरी प्रमुख कार्कीले बताए ।
“कानुनसम्मत यस्तो सम्झौता गर्न नपाइने भए पनि व्यावहारिक सम्भौता भएको रहे छ,” उनले थपे, “त्यो सम्झौता पनि सवारीधनी वा चालकले नमानेपछि मुद्दा चलाउने तयारीमा छौँ ।” क्षमताभन्दा बढी यात्रु बोक्ने जिप तथा बसलाई सम्झाई बुझाई गरेर कागजपत्र नियन्त्रणमा दिएर छोडिएको उनले बताए । जिप र अटोरिक्साधनी, चालकलाई प्रहरीले बारम्बार सम्झाई बुझाई गर्दासमेत क्षमताभन्दा बढी यात्रु बोक्न नछोडेकाले अटेर गरेको बुझ्नमा आएको उनको भनाइ छ ।
सवारी नियमनका क्रममा प्रहरीसँग विवाद, निर्देशनको अटेर गरेकै कारण क्षमताभन्दा बढी यात्रु बोक्ने र चेकिङ गर्दा प्रहरीसँग नै वादविवाद गर्ने भएकाले मुद्दा चलाउने तयारी भइरहेको जानकारी उनले दिए। रातो नम्बर प्लेटका निजी जिपले समेत यात्रु बोकेको भेटिएको उनले बताए । पाँच सिट पास जिपमा २५ जनासम्म र चार सिट पास अटोरिक्सामा सात जनासम्म यात्रु भेटिएको छ । सिट क्षमताभन्दा बढी यात्रुको बिमा नै नहुने भएकाले सवारीधनी र यात्रुलाई ठुलो समस्या हुने भएकाले क्षमताभन्दा बढी यात्रु नबोक्न र यात्रुलाई पनि गाडी नचढ्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।
यातायात व्यवसायी भने यात्रु नै जबरजस्ती सवारीसाधन चढ्ने भएकाले सिट क्षमताभन्दा बढी यात्रु बोक्नु परेको बताउँछन् । सबै जना हतार छ, घरमा छिटो पुग्नु पर्छ भन्छन्, सिट क्षमताभन्दा बढी नबस्नुहोस् भन्दा गाली गर्छन् एक सवारीचालकले गुनासो पोखे ।