धनगढी, १० चैत/कैलालीको कैलारी गाउँपालिकाका स्थानिय एम्बुलेन्स सेवा नपाउँदा स्वास्थ्य उपचार गराउन सास्ती भोग्न बाध्य भैरहेका छन् । गाउँपालिकामा सञ्चालित एम्बुलेन्स बिग्रिएर करिब एक महिनादेखि थन्किदा बिरामी ल्याउन लैजान समस्या भएको हो।
गाउँपालिकाको हसुलिया स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्स बिग्रिँदा सर्वसाधारणले सास्ती खेप्नु परेको उनीहरुको भनाई छ । सो स्वास्थ्य चौकीमा सुत्केरी गराउन आउने महिलाहरू झनै समस्या परेका छन् । स्थानिय दिपेश चौधरीका अनुसार केही दिन अघि मात्रै गाउँपालिकाको वडा नं १ की एक महिलाले समयमा एम्बुलेन्स नपाउँदा बाटोमै बच्चा जन्माइन् ।
उनले भने, एम्बुलेन्स खोज्यौँ पाएन, एम्बुलेन्स नपाइने भएपछि अन्य सवारीसाधनको प्रयोग गरी स्वास्थ्य चौकीमा लैजाने निर्णय गर्यौँ, उनले भने, स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै बच्चा जन्माएपछि मात्रै स्वास्थ्य चौकी पुगाइयो।स्वास्थ्य चौकी प्रमुख पुष्पराज उपाध्यायले हसुलिया स्वास्थ्य चौकीलाई बर्थिङ सेन्टरको रूपमा लिइने गरेको बताए। जहाँ वडा नं। १, ३ र ४ का महिलाहरू सुत्केरी गराउँछन् उनले भने, तर समयमा एम्बुलेन्स सेवा नपाउँदा बाटोमै बच्चा जन्माउनुपर्ने बाध्यता रहेको छ।