धनगढी, १४ पुस/छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधिका लागि साविक विजेता स्टार सिटी युवा क्लब र ईलाईट युवा भिड्ने भएका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको फाईनल खेल आज (शनिबार) २ बजे धनगढीको रंगशालामा हुने छ ।
गत बर्षको विजेता स्टार सिटी लगातार दोस्रो पटक उपाधिमाथि कब्जा गर्न चाहन्छ । उसका कप्तान कप्तान कुवेर सिंह सर्वाधिक गोलकर्ताको पहिलो नम्बरमा छन् भने उनको नाममा एक ह्याट्रिक पनि छ । उनी हालसम्म खेलिएका तीन खेल मध्ये दुई खेलमा म्यान अफ द म्याच भएका छन् । यसका साथै स्टार सिटीमा रहेका नेपाली राष्ट्रिय टोली र ए डिभिजन क्लबाट खेलेका खेलाडीहरुका साथै धनगढी र विभिन्न स्थानका खेलाडीहरु भएका कारण स्टार सिटी उपाधि जित्ने गरी मैदान उत्र्रिनेछ ।
कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ को ईलाईट क्लब पनि पहिलो सहभागीतमा पहिलो उपाधि जित्न चाहन्छ । प्रतियोगितामा हालसम्म भएका दुई ह्याट्रिकमा एक ह्याट्रिक गरेका हरिश भट्ट ईलाईटमा छन भने उनी सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा छन् । यस्तै निकै लामो समयदेखि सुदुरपश्चिमको फुटबलसँग आबद्ध भएका खेलाडीहरुका साथै दुई जना विदेशी खेलाडीको प्रदर्शनले ईलाईटले फाईनलसम्मको यात्रा तय गरेको हो ।
फाईनलसम्मको यात्रामा ईलाईटले सबैभन्दा कम १ गोल मात्रै खाएको छ भने हालसम्म ९ गोल गरेको छ । जस कारण पनि ईलाईटले उपाधिमाथि दावेदारी गरिरहेको छ । पहिलो खेलमा अल स्टार्स स्पोर्टस एकेडेमीमाथि १–० को जित निकालेको ईलाईटले क्वाटरफाईनलमा नेपाल प्रहरी सुदुरपश्चिम प्रदेशलाई ५–१ ले हराएको थियो । सेमिफाईनलमा बलियो आयोजक फारवेष्ट पशुपति युवा क्लबमाथिको ३–० को जितले टोलीलाई उच्च मनोबलमा राखेको छ ।छैटौ संस्करणको उपाधि भिडन्त धनगढी रंगशालामा दिउँसो २ बजे हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५र१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् ।