काठमाडौं ९ पुस/पेनाल्टी सुटआउटमा पोखरा थन्डर्सलाई ४–३ ले हराउँदै धनगढी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग ९एनएसएल० को फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलको अतिरिक्त समयको अन्तिम मिनेटसम्म धनगढी २–१ ले पछि थियो ।
तर, अन्तिम मिनेटमा हिजाजीले गोल गर्दै धनगढीलाई खेलमा फर्काएपछि नतिजा बराबरीमा आइपुगेको हो । यसपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलको नतिजा ४–३ ले जित्दै धनगढी फाइनल प्रवेश गरेको हो ।पेनाल्टीमा पहिलो प्रहारका लागि आएका धनगढीका रिचार्ड ओसेइ, दोस्रोका लागि आएका फोडे फोफाना, चौथोका आशिष चौधरी, पाँचौँ देवेन्द्र तामाङले गोल गरे ।
तेस्रोका प्रहारका लागि आएका अहमद हिजाजीको प्रहारलाई पोखराका गोलकिपर प्रिसोले विफल बनाए पनि टिमको हार टार्न सकेनन् ।पोखराबाट पहिलो प्रहारका लागि आएका कप्तान दीनेश राजवंशी, दोस्रोका प्रहारका लागि आएका एन्जल महर्जन, तेस्रोमा आएका सुरजजिउ ठकुरीले गोल गरे । तर, चौथो प्रहारमा आएका मोसेस ग्यावा र पाँचौँमा आएका आयुश घलानको प्रहारलाई धनगढीका गोलकिपर मोहमद ताहाले विफल बनाउँदै आफ्नो टिमको स्थान फाइनलमा सुरक्षित गरे ।
त्यसअघि खेलमा पोखराका आयुश घलान र फ्रयांकलिन टलाले गोल गरेका थिए । धनगढीबाट कप्तान देवेन्द्र तामाङ र हिजाजीले गोल फर्काए ।खेलको पाँचौँ मिनेटमा आयुश घलानले गोल गर्दै पोखरलाई अग्रतामा राखेका थिए । मोसेस त्वमले लेफ्ट साइडबाट गरेको क्रसलाई धनगढीको रक्षकले क्लियर गर्न नसक्दा अनमार्क रहेका आयुशले ६ यार्ड बक्सबाट बललाई सहजै पोस्टको दिशा दिएपछि पोखराले अग्रता बनाएको थियो । पहिलो हाफभर पोखराले १–० को अग्रता बनाए पनि दोस्रो हाफमा धनगढी खेलमा फर्कियो ।
५४औँ मिनेटमा कप्तान देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काए । कमल श्रेष्ठले राइट साइडबाट गरेको क्रसमा देवेन्द्रले हेडर गोल गरे । देवेन्द्रको यो गोलमा पोखराका गोलकिपर प्रिसो प्रतिक्रियाविहीन बनेका थिए ।यसपछि निर्धारित ९० मिनेटसम्म गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
खेलको १०२औँ मिनेटमा फ्रयांकलिन टलाले गोल गर्दै पोखरालाई २–१ को अग्रतामा राखे । सुरजजिउ ठकुरीले गरेको फ्रिकिक प्रहारमा कप्तान दीनेश राजवंशीको हेडरलाई धनगढीका गोलकिपर ताहाले रोके पनि नियन्त्रणमा लिन सक्दैनन् । सोही रिबाउन्डमा दीनेशकै प्रहारलाई ताहाले पुनः विफल बनाए पनि बललाई नियन्त्रणमा भने राख्न सक्दैनन् ।
पुनः रिबाउन्डमा मोसेस त्वमको हेडरलाई ताहाले फेरि बचाउँछन्, तर अझै नियन्त्रणमा भने राख्न सक्दैनन् । त्यही रिबाउन्डमा फ्रयांकलिन टलाले हेडर गोल गरेपछि पोखराले २–१ को अग्रता बनाएको हो ।तर, अन्तिम मिनेटमा हिजाजीले बक्सभित्रबाट पावरफुल गोल गर्दै धनगढीलाई खेलमा फर्काएका थिए । मैदानको मध्य भागबाट आएको पासमा हिजाजीको पहिलो प्रहार पोखराका कप्तान दिनेश राजवंशीलाई डिफेक्ट भए पनि सोही रिबाउन्डमा हिजाजी आफैले शक्तिशाली प्रहारलाई जाली चुमाएका हुन् ।
जितसँगै फाइनलमा स्थान बनाएको धनगढीले अब उपाधिका लागि दोस्रो क्वालिफायर विजेतासँग खेल्नेछ । धनगढीसँग हार बेहोरेको पोखराले भने अब दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेतासँग खेल्ने छ । प्लेअफको इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
खेलको निर्धारित समयमा दुवै टिमले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । आठौँ मिनेटमा पोखराको अग्रता दोब्बर बनाउने सुनौलो अवसर धनगढीका गोलकिपर मोहमद ताहा बाधक बने । आयुश घलानले पेनाल्टी बक्सभित्रबाट तीन रक्षकलाई चकित पार्दै निकालेको ‘ब्याक पास’ मा दीपेश आले मगरको प्रहारलाई ताहाले उत्कृष्ट बचाउ गरे ।१९औँ मिनेटमा पोखराका मोसेस त्वमको प्रहार पोस्ट नजिकबाट बाहिरियो । स्टेफन पापा एनोरले लेफ्ट साइडबाट गरेको क्रसमा त्वमको ‘भली’ सेकेन्ड बार नजिकबाट बाहिरिएपछि धनगढीको खतरा टरेको थियो ।
२४औँ मिनेटमा अहमद हिजाजीको हेडरमा पोखराका नरेन्द्र चौधरी बाधक बन्दा धनगढी बराबरीमा फर्किन सकेन । अभिषेक गुरुङको राइट साइडबाट गरेको क्रसमा पेनाल्टी बक्सभित्र अनमार्क रहेका अहमद हिजाजीको हेडरलाई गोललाइनबाट नरेन्द्रले छातीले रोक्दै धनगढीको खेलमा फर्किने प्रयासलाई सफल बन्न दिएनन् ।
३१औँ मिनेटमा जोए आइडुको फ्रिकिकमा पुनः धनगढीका गोलकिपरले उत्कृष्ट बचाउ गरे । धनगढीका कप्तान देवेन्द्र तामाङको ह्यान्ड भएपछि पेनाल्टी बक्स बाहिरबाट फ्रिकिक पाएको थियो । जसमा आइडुको लोअर प्रहार राइट साइडमा ताहाले डाइभ हान्दै बललाई जोगाएका थिए । सोही बल पोस्टमा ठोक्किएर रिबाउन्ड आउँदा पोखराका मोसेस त्वम प्रहारका लागि पुगे पनि पुनः ताहाले बललाई नियन्त्रणमा राख्दै खतरा टारे ।
४८औँ मिनेटमा धनगढीको बराबरी गर्ने सुनौलो अवसरलाई पोखराका गोलपिकर प्रिसोले टारे । ५ को प्रहार कप्तान दीनेश राजवंशीले गोललाइनबाट हेडर क्लियर गरे । सोही रिबाउन्डमा हिजाजीले हेडर प्रयास गरे पनि प्रिसोले सहजै नियन्त्रणमा राखे ।५४औँ मिनेटमा धनगढीका हिजाजीको प्रहारलाई पुनः प्रिसोले विफल बनाए ।७२औँ मिनेटमा पोखराका फ्रयांकलिन टलाले सुनौलो अवसर सदुपयोग गर्न सकेनन् । पेनाल्टी बक्सबाहिरिबाट सुरजजिउ ठकुरीको फ्रिकिकलाई मोसेस त्वमले हेडमार्फत मिलाइदिएको बलमा टलाको हाफ भली पोस्ट माथिबाट बाहिरिँदा धनगढीको खतरा टरेको हो ।
७९औँ मिनेटमा ओलावाले आफिजको सुन्दर भली प्रहारमा पोखराका प्रिसोले उत्कृष्ट ‘गोलकिपिङ’ को नमुना प्रस्तुत गरे । अभिषेक गुरुङले राइट साइडबाट गरेको क्रसलाई बक्सभित्रका हिजाजीले ‘एक्रोबेटिक’ प्रयास गरे पनि बिट हुँदा ओलावालको भली प्रहारलाई प्रिसोले उत्कृष्टरूपमा बचाए ।८३औँ मिनेटमा धनगढीका गोलकिपरले मोहमद ताहाले धनगढीको खतरा टारे । सुरजजिउ ठकुरीले प्रहार गरेको फ्रिकिकमा बक्सभित्रका आइडुको हेडरलाई ताहाले उत्कृष्टरूपमा विफल बनाए ।
निर्धारित समयको अन्तिम मिनेटमा पोखराका आइडुले ३० यार्डभन्दा परबाट गरेको भली प्रहार बार नजिकैबाट बाहिरिएपछि धनगढीको खतरा गरेको थियो ।लिग चरणबाट नवीन न्यौपानेको टोली पोखरा शीर्ष स्थानमा रहँदै अन्तिम चारमा आइपुगेको थियो । पोखराले आठ खेलमध्ये चारमा जित निकाल्दा तीनमा बराबरी र एक खेलमा हारको नतिजासहित १५ अंक जोडेको थियो ।
दोस्रो स्थानमा रहँदै प्लेअअफमा आएको धनगढीले समान खेलबाट तीन जित, चार बराबरी र एक हारको नतिजासहित १३ अंक जोडेको थियो । धनगढीले एनएसएलको पहिलो संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि काठमाडौं रेजर्ससँग पराजित भएपछि उपविजेतामा खुम्चिएको थियो ।