धनगढी, २९ मंसिर/धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिगको आठौँ संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन्।फाप्ला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दुईवटा सेमीफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई तथा सत्यवती एकेडेमीले युथ अफ टिकापुरलाई सेमीफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। फाइनल खेल शनिवार हुनेछ।
आज सम्पन्न पहिलो सेमीफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्यो।घोडाघोडीले दिएको ८९ रनको लक्ष्य धनगढी स्पोर्ट्स क्लबले ७ विकेट गुमाएर १६.२ ओभरमा पुरा गर्यो। धनगढी स्पोर्ट्स क्लबको लागि आयुष्मान बमले सर्वाधिक २५ रन बनाए। प्रनित थापाले २१ तथा सुनिल धमलाले १८ रन बनाए।
घोडाघोडीका बलर नरेश सुनार र कृष कार्कीले २र२ विकेट तथा हरिश बस्नेत र भुपेश जोशी १/१ विकेट लिए। यस अघि टस जितेर ब्याटिंग गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १६.१ ओभरमा ८८ रनमा सबै विकेट गुमायो। घोडाघोडीको ब्याटिंगमा नवयुग बस्नेतले सर्वाधिक २५ रन, बिपिन बिक्रम शाहीले १७, दिनेश रावतले १७ तथा संजय बोहराले १२ रन योगदान दिए।
धनगढी स्पोर्ट्स क्लबको बलिंगमा अमर सिंह रौटेलाले सर्वाधिक ४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित रौटेलाले ४ ओभरमा २१ रन खर्चिए। दिपक चन्द ठकुरीले ३ तथा भोज राज भट्ट, भुवन कार्की र विकास आग्रीले १/१ विकेट लिए। दोश्रो सेमीफाइनलमा सत्यवती एकेडेमीले युथ अफ टिकापुरलाई ६ विकेटले पराजित गर्यो। युथ अफ टिकापुरले दिएको १११ रनको लक्ष्य पछ्याएको सत्यवती एकेडेमीले युथ अफ टिकापुरलाई ६ विकेटले पराजित गर्यो।
सत्यवतीको ब्याटिंगमा ओपनर इमरान शेखले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सन्दिप रजालीले २३, सन्दिप क्षेत्रीले २१ तथा सन्तोष कार्कीले १२ रन बनाए। युथ अफ टिकापुरका बलर सोलुप चौधरीले २ तथा गौतम केसी र प्रेम शाहले १र१ विकेट लिए। यस अघि टस हारेर ब्याटिंग गरेको युथ अफ टिकापुरले १९।५ ओभरमा सबै विकेट गुमाएर ११० रन बनाएको थियो।
टिकापुरको ब्याटिंगमा प्रकाश जैसीले सर्वाधिक ३२ रन, सुमित महर्जनले २० तथा प्रदिप ऐरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सत्यवती एकेडेमीको बलिंगमा सन्तोष कार्कीले सर्वाधिक ३ विकेट लिए। फिर्दोश अन्सारी र अभिषेक कोइरालाले २र२ विकेट तथा त्रित दास र रंजित कुमारले १/१ विकेट लिए।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।