धनगढी, ४ भदौ / थारु समुदायको चाडको शुरुवातकोरुपमा लिइने गुरही पर्व आज मनाईदै छ ।नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले सोमबार गुरहीलाई थारु समुदायले धुमधामकासाथ मनाउँदैछन् ।
थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने नै हो ।
गुरहीकै दिनदेखि वर्षायाम अन्त्य भई हिउँद शुरुभएको मानिन्छ । तर थारु समाजमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्सदिलो भएकाबेला आउने यो पर्व पर्दछ । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ ।
थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ ।