काठमाडौं,१३ साउन ÷ विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब भारतको सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्ये एक डुरान्ड कप खेल्नका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेको छ ।
वसन्तराज गुरुङको नेतृत्वमा ४२ सदस्यीय टोली भारतीय बायुसेना निगमको जहाजमार्फत भारत प्रस्थान गरको हो । टोलीलाई बलाधिकृत रथी सरोज प्रताप राणाले जङ्गी अड्डामा एक कार्यक्रमका बीच विदाइ गर्नुभयो ।
विदाइ अवसरमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले प्रधान सेनापति प्रभुराम शर्माको अभिप्राय अनुरुप सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई उत्कृष्ट खेल प्रदर्शनका साथै उच्च अनुशासन कायम गर्न निर्देशन दिनु भएको थियो ।
डुरान्ड कपको १३२औं संस्करणमा त्रिभुवन आर्मी सहित २४ टोलीको सहभागिता रहनेछ । नेपाली टोलीले पहिलो पटक अवसर पाएको हो । आर्मीले अगस्ट ९ मा दिल्ली एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी आर्मीले १४ अगस्ट १४ मा चेन्नाई एफसी र अगस्ट २२ मा हैदराबाद एफसीको समाना गर्नेछ ।
भारतको कोलकाता, गुवाहाटी र कोक्राझारमा अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म हुने प्रतियोगितामा विदेश टोलीका रुपमा त्रिभुवन आर्मीसँगै बंगलादेश आर्मीले सहभागिता जनाउँदै छ । प्रतियोगितामा २७ वर्षपछि विदेशी टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका विजेता र दुई उत्कृष्ट उपविजेताले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । समूह ‘ए’, ‘बी’ र ‘सी’ का खेलहरु कोलकातामा हुनेछन् । प्रतियोगिताको फाइनल पनि कोलकाताकै पवित्र विवेकानन्द युवा भारती क्रिरांगन रंगशालामा हुनेछ ।
समूह ‘डी’ र समूह ‘इ’ का २ बाहेक अन्य खेल गुवाहाटीको इन्दिरा गान्धी रंगशालामा खेलाइने छ । कोक्राझारको साई सेन्टर रंगशालामा समूह ‘इ’ का २, समूह ‘एफ’ का खेल र १ क्वार्टरफाइनल गरी ९ खेल हुनेछन् ।
प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले ३० लाख भारतीय रुपिँया ९भारु० प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगितामा गेल्डेन बल, बुट र ग्लोभ जित्नेलाई जनही ३ लाख भारु प्रदान गरिने छ ।