धनगढी, २१ असार/२१०औं आदिकवि भानु जयन्तीमा अवसरमा यही असार २९ गते धनगढीमा बृहत् साहित्यिक तथा सांस्कृतिक उत्सव हुने भएको छ। सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने विशेष समारोहमा मुख्यमन्त्री कमल शाह प्रमुख अतिथि हुने कार्यक्रम तय भएको छ।
समारोहमा सुप प्रज्ञा प्रतिष्ठानले प्रदान गर्ने प्रादेशिक प्रतिभा पुरस्कारहरू र कैलाली जनपुस्तकालयले प्रदान गर्ने प्रतिभा पुरस्कारहरूबाट स्रष्टाहरूलाई सम्मानित गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा।टीएन जोशीले बताए। समारोहमा ख्यातिप्राप्त कविहरूबाट कविता वाचन, सुदूरपश्चिमको लोक संस्कृति प्रदर्शन,तथा बिभिन्न कृतिको लोकार्पण हुनेछ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना,कैलाली जनपुस्तकालय धनगढीको सहकार्य र सुप कला प्रतिष्ठानको सांस्कृतिक संयोजनमा हुन लागेको भानु जयन्ती विषेष समारोह असार २९ गते धनगढी सहिदगेट नजिक रहेको सौंराई पार्टि प्यालेसमा दिउँसो १ बजेबाट शुरु हुने आयोजकले जनाएको छ। कार्यक्रममा सुदूरपश्चिमका मौलिक नृत्य प्रदर्शन हुनेछन्।
भानुजयन्तीको दिन बिहान कैलाली जनपुस्तकालयमा रहेको आदिकवि भानुको सालिकमा माल्यार्पण गरिनेछ भने दिउँसो सौराई पार्टी प्यालेसमा सांस्कृतिक तथा साहित्यिक उत्सव हुने भएको आयोजकले जनाएको छ। कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, विशिष्ट व्यक्तित्वहरू, कलाकार, साहित्यकार तथा संस्कृतिकर्मीहरूको सहभागिता रहनेछ। आयोजकले कार्यक्रममा सहभागिताका लागि शुभेच्छुक सबैलाई आमन्त्रण गरेको छ।