काठमाण्डौ/ कोशी प्रदेश ब्याडमिन्टन संघको आयोजनामा पाँचथरमा ब्याडमिन्टन अम्पायर प्रशिक्षण सोमबार सम्पन्न भएको छ ।
दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुरूप पाँचथर ब्याडमिन्टन संघको पहलमा पहिलोपटक पाँचथरमा ब्याडमिन्टन अम्पायर तालिम आयोजना भएको थियो । चार दिने प्रशिक्षणमा कोशी प्रदेशका १० जिल्लाका २ महिला सहित २२ जनाको सहभागिता थियो । तालिममा कोशी प्रदेशका तेह्रथुम, मोरङ, खोटाङ र उदयपुर बाहेकका जिल्लाहरुको सहभागिता थियो ।
२२ जना ब्याडमिन्टन अम्पायरहरुलाई कोशी प्रदेश ब्याडमिन्टन संघले आउने दिनमा प्राविधिक जनशक्तिको रुपमा प्रयोग गर्ने कोशी प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष योगेश्वर श्रेष्ठले जानकारी दिए । सहभागीलाई ब्याडमिन्टन एसियाका सर्टिफाईड अम्पायर दीपक थापाले प्रशिक्षण गराएका थिए ।