एजेन्सी – इटालियन क्लब रोमा युइएफए युरोपा लिगको फाइनलमा प्रवेश गर्दा अर्को इटालियन क्लब युभेन्ट्स बाहिरिएको छ ।सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर लिभरकुसनसँग गोलरहित बराबरी खेलेपछि समग्रमा १–० को जित निकाल्दै रोमा फाइनलमा पुग्न सफल भएको हो ।
बेएरिना लिभरकुसनमा बिहीबार राति भएको खेलमा घरेलु टोलीबाट खेलको पुरै समय दवावमा परेको रोमाले त्यो दवावलाई झेल्दै पहिलो लेगमा लिएको अग्रतालाई जोगाएर फाइनल पुग्न सफल भयो । रोमाले पहिलो लेगमा १–० को जित निकालेको थियो ।
अर्को सेमिफाइनलमा पहिलो लेगको अग्रता जोगाउन नसक्दा युभेन्ट्स बाहिरिएको छ । सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स अतिरिक्त समयमा स्पेनिस क्लब सेभियासँग २–१ ले तथा समग्रमा ३–२ ले पराजित हुँदै बाहिरिएको हो ।रोमन सान्चेज पिजुवानमा बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा सेभियाको जितमा सुसो र एरिक लमेलाले गोल गरे । युभेन्ट्सका डुसान भ्लाहोभिचले गरेको गोल सान्त्वना बन्यो ।
खेलको ६५औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । ७१औं मिनेटमा सुसोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।९५औं मिनेटमा एरिक लमेलाले गोल गर्दै सेभियालाई फाइनलमा पु¥याए । ११५औं मिनेटमा सेभिया १० खेलाडीमा समेटिन पुग्यो । मार्कास एकुना दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपनि युभेन्ट्सले त्यसको फाइदा उठाउन सकेन ।
अब रोमा र सेभियाबीच ३१ मेमा फाइनल हुनेछ । फाइनल पुस्कास एरिना हंगेरीमा हुनेछ । सेभिया फाइनल पुगेको सबै ६ खेलमा विजयी हुँदै च्याम्पियन बनेको छ । यता, रोमाका प्रशिक्षक जोसे मौरिन्होले पाँच पटक युरोपियन फाइनल खेल्दै आफ्नो टोलीलाई च्याम्पियन बनाएको छ ।