धनगढी, ५ चैत/धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुने भएको छ । आगामी १० गते धनगढीमा हुने साहित्य महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा १० गते देखी १३ गते सम्म साहित्य महोत्सव आयोजना हुन लागेको आयोजक सुदूर पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार नेपाल, भारत, अमेरिका लगायतका मुलुकबाट साहित्यकारहरू धनगढी आउने छन् । भारतका बिभिन्न प्रदेशबाटमा रहेका नेपाली भाषीहरू पनि साहित्य महोत्सवका सहभागी हुन आउने पाण्डेले बताए । विश्व नेपाली नारी साहित्यको अवसर पारेर साहित्यकार झमक घिमिरे, नवराज लम्साल र सनतराज रेग्मीलाई सम्मान गरिने भएको छ । उनीहरूलाई जनही १ लाख ११ हजार रुपैयाँ सहित सम्मान गरिने अध्यक्ष पाण्डेले जानकारी दिए ।
अघिल्लो बर्ष धनगढीमा नेपाली साहित्य महोत्सव र त्यस अघि विश्व नेपाली साहित्य महोत्सव आयोजना गरिएका थियो । यस पटक महिला साहित्यकारहरूलाई प्राथमिकता दिँदै विश्व नेपाली नारी साहित्य महोत्सव आयोजना गर्न लागिएको हो ।